१८ औँ एसियाडमा नेपालले आज यी खेलहरुमा प्रतिस्पर्धा गर्दै

“
काठमाडौँ, भदौ ४ । इन्डोनेसियामा जारी १८ औँ एसियाली खेलकुद, एसियाडको तेस्रो दिन आज नेपालले आधा दर्जन भन्दा बढी खेलमा प्रतिस्पर्धा गर्दैछ ।
आइतबारको खेलमा कमजोर प्रदर्शन गरेको नेपालले आज विभिन्न खेलमा प्रतिस्पर्धा गर्दैछ । तेक्वान्दोको पुरुष ५८ केजी तौल समूहमा नेपालका सागर गुभाजुले अन्तिम ३२ मा भुटानका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् । यसैगरी महिला ५३ केजी तौल समूहमा नेपालकी निमा गुरुङले प्रिक्वाटरफाइनलमा लेबनानकी खेलाडीसँग प्रतिस्पर्धा गर्दैछिन् ।
महिला ६७ केजी तौल समूहमा नेपालकी संगिता नेपाली बस्यालले अन्तिम १६ को खेलमा फिलिपिन्सकी खेलाडीसँग प्रतिस्पर्धा गर्दैछिन् ।
ब्याडमिन्टनको पुरुष टिम प्रतिस्पर्धामा नेपालले क्वाटरफाइनलमा चाइनिज ताइपेईको सामना गर्दैछ । नेपालले जितेमात्र पनि कास्य पदक पक्का गर्नेछ । यसअघि पहिलो चरणमा नेपालले पाकिस्तानलाई हराएको थियो।
प्याराग्लाइडिङ्गको मेन्स इन्डिभिजुअल एक्युरेसीमा नेपालका विजय गौतमले प्रतिस्पर्धा गर्दैछन्। यसैगरी महिला स्पर्धामा नेपालका तृशा तामाङ श्रेष्ठ र प्रतिभा भुजेलले खेल्दैछन्। सुटिङको पुरुष १० मिटर एयर राइफलमा सुसे चौधरीले खेल्दैछन्।
महिलातर्फ सुस्मिता नेपाल र कल्पना परियारले प्रतिस्पर्धा गर्दैछन्। पौडीको महिला सय मिटर फ्रि स्टाइलमा नेपालकी गौरिका सिंह र तिसा शाक्य खेल्दैछन्।
टेनिसका पुरुष युगलतर्फ अन्तिम ३२ को प्रतिस्पर्धामा नेपालका संरक्षकभुषण बज्रचार्य र अभिषेक बास्तोलाको जोडीले भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन्।
नेपालका यी दुवै खेलाडी एकल स्पर्धामा भने पहिलो चरणबाटै बाहिरिएका थिए। यसैगरी महिला युगलमा नेपालका मायांका राणा र माहिका राणाको जोडीले माल्दिभ्सको टोलीसँग अन्तिम ३२ मा प्रतिस्पर्धा गर्दैछ।
नेपालले उसमा पुरुष सान्दा ५६ केजी तौल समूहको अन्तिम १६ को प्रतिस्पर्धामा पदमबहादुर ठकुल्लाले लाओसका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन्। सोही चरणको ६५ केजी तौल समूहमा बिरमान लामाले पनि लाओसकै खेलाडीसँग खेल्दैछन्।
महिला नान्दोमा निमा घर्तिमगरले खेल्दैछिन्। उनी दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता हुन्। यसैगरी पुरुष नानक्वानमा युवराज थापाले प्रतिस्पर्धा गर्दैछन्। उनीसँग अन्य २२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
“








