राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धमा संसदीय समितिले डा. केसीसँग छलफल गर्ने

काठमाडौँ, भदौ ३ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ सम्बन्धमा प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसीसँग छलफल गर्ने भएको छ ।

चिकित्सा शिक्षा विधेयक सम्बन्धी समितिको आइतबारको बैठकले सो निर्णय गरेको हो । चिकित्सा शिक्षा विधेयकबारे डा. गोविन्द केसी, चिकित्सा शिक्षाका सरोकारवाला निकाय, माथेमा आयोगका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल लगायतसंग समितीले छलफल गर्ने निर्णय गरेको हो ।

यसअघि चिकित्सा शिक्षा संशोधनको माग गर्दैै डा. गोविन्द केसी २७ दिन सम्म अनशन बसेका थिए भने केही हप्ता अघि सरकारले यस विषयमा चासो नदिए पुनः अनशन बस्ने चेतावनी समेत दिएका थिए ।

आइतबारको बैठकमा भने समितिले संशोधन प्रस्ताव दर्ता गराएका संसोधनकर्ता सांसदहरुसंग छलफल गरेको छ ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षामा विपन्न तथा गरीबका लागि विशेष व्यवस्था गरेर पहुँचको सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।

सासद वृन्दा पाण्डेले स्वास्थ्य क्षेत्रलाई गैरनाफामूलक बनाउने कुरा विधेयकको प्रस्तावनामै उल्लेख गरेर चिकित्सा क्षेत्रको अध्ययनमा विद्यार्थी भर्नालाई अधिकतम समावेशी गर्न आवश्यक रहेको बताइन् ।

त्यस्तै सांसदद्वय योगेश भट्टराई र उमाकान्त चौधरीले दशकौँसम्म चिकित्सा क्षेत्रको नेतृत्व लिन सक्ने बनाउन विधेयकमाथि सरोकारवालासँग पर्याप्त छलफलको खाँचो भएको औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =