नेपाल विद्यालय कर्मचारी परिषदको आन्दोलन स्थगित

कैलाली, भाद्र २ । नेपाल विद्यालय कर्मचारी परिषदले भाद्र ३ र ४ गते गर्ने भनिएको देशैभरिका सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

साउन ३१ गते नेपाल शिक्षक महासंघद्वारा जारी विज्ञप्ती र भाद्र १ गतेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ती बमोजिम आफ्ना आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरिएको नेपाल विद्यालय कर्मचारी परिषदले जनाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निकट भविस्यमा संघीय संसदमा पेश हुने शिक्षा विधेयक २०७५ मा विद्यालय कर्मचारीले उठाएका मागहरु आवश्यक सम्बोधन हुने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेको थियो ।

कर्मचारी परिषदले देशैभरिका ७७ जिल्लाका ७५३ वटै स्थानीय तहका सामुदायिक विद्यालय बन्दको कार्यक्रम स्थगित गर्ने भएपछि विद्यालयको पठनपाठन नियमित रूपमा संचालन हुने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघद्वारा जारी गरिएको विज्ञप्तीको उच्च सम्मान गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरिएको परिषदको भनाइ छ ।

 

यता, कैलालीमा पनि शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला कार्यसमिति कैलालीले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

जिल्ला सचिव एवं आन्दोलन परिचालन समिति संयोजक रतन बहादुर कार्कीले वार्ताको माध्यमबाट समाधान र आन्दोलनको विकल्प खोजीन लागिएको बताए ।

कार्कीले हाललाई अर्को सूचना नभएसम्म केन्द्रको विज्ञप्ती बमोजिम कार्यक्रम स्थगित गरिएको बताएका छन ।

 

जारी विज्ञप्तीमा आन्दोलनका क्रममा प्रदेश, जिल्ला र १३ वटै स्थानीय तहमा समेत ध्यानाकर्षण पत्र, अपिल तथा मागपत्र बुझाइ कर्मचारीका पेसागत समस्याबारे अवगत गराएको बताइएको छ ।

पूर्व निर्धारित आन्दोलनमा सरिक भई सफल पार्न अहोरात्र खटिएका सबै जिल्ला र स्थानीय तहलाई धन्यवाद समेत दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 6 =