साहारा घरलाई थापाको आर्थिक सहयोग

कैलाली, भदौ १ । सुर्खेतको बिरेन्द्रनगर स्थायी घर भई हाल अमेरीकाको भर्जिनियालाई आफ्नो कर्मथलो बनाउदै आइरहेकी जयन्ती थापाले कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका २ बर्दगोरिया क्षेत्रमा रहेको मानव सेवा आश्रम साहारा घरलाई आर्थिक सहयोग गर्दै समाजसेवा गर्न दुरीले फरक नपार्ने कुरा पुष्टी गरेकी छिन् ।

थापाले विभिन्न सामाजिक सञ्जालमार्फत साहारा घरमा रहेका असाह्य, अशक्तहरुले भुइमै बसेर भोजन गर्नुपर्ने र सो घरमा आउने पाहुुनाहरुलाई बस्ने कुर्सीको अभाव रहेको कुरा जानकारी पाएपछि साहारा घरका संस्थापक अध्यक्ष बल बहदुर बिष्टको नाममा मनिग्राम मार्फत ११ हजार ९७ रुपैयाँ पठाइदिएकी छिन् ।

साहारा घरले सो रकम प्राप्त गर्न वित्तिकै शुक्रबारै थापाको नाममा १४ थान कुर्सी खरिद गरेको साहारा घरका अध्यक्ष बल बहादुर बिष्टले जानकारी दिए ।

थापा विगत लामो समयदेखी समाजसेवामा सक्रिय रहेको समेत जानकारी प्राप्त भएको छ । उनले यस अघि सुर्खेतमा रहेको श्री अमर जोति नमुना माध्यमिक बिद्यालयमा छात्रवृत्ति अक्षयकोषको स्थापना श्री सृजनशिल महिला विकास केन्द्र आठबिसकोट रुकुममा महिला र बच्चालाई न्यानो लुगा वितरण, दृष्टिविहिन हेरचाह केन्द्रमा विशेष सहयोग र भुकम्पको समयमा नगद सहयोग र विभिन्न समयमा बाढिपीडितहरुलाई नगद सहयोग गरेकी थिइन् ।

थापाले यो सुरुवात मात्र भएको र आगामी दिनमा साहारा घरलाई आफ्नो तर्फबाट हुन सक्ने सहयोग निरन्तर गरिरहने बताएकी छिन् । हाल साहारा घरले करीब ३० जना असाहय सडक जीवनयापन गरिरहेका मानवहरुलाई आश्रय दिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *