मृतक परिवारले क्षतिपूर्ति पाए पनि परिवारमा समस्या


“
काठमाडौँ, भदौ १ । धनुषाको हषपुर नगरपालिकाका ४३ वर्षीय श्रीराम एकवाल शाह वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएको दुई वर्षमा नै उनको लास स्वदेश आइपुग्यो ।
गत २०७३ साल वैशाख २७ गते मलेसियाको टपलोभ नामक कम्पनीमा गएका शाह यही वैशाख २० गते मृत्यु भएको थियो ।
बाबुको मृत्यु भएपछि परिवारमा आर्थिक समस्याले सताउन थालेको मृतकका २२ वर्षीय छोरा रोशनकुमार शाहले मकालुलाई बताए । उनी भन्छन्, ‘क्षतिपूर्ति त आउँछ तर त्यो रकमले परिवार धान्ने कसरी ?’
हाल स्नातक दोस्रो वर्षमा अध्ययनरत उनी पनि रोजगारीका लागि विदेश नै जाने सोचाइमा छन् । भाइहरुलाई पढाउनकै लागि भए पनि आफू विदेश जाने सोचाइ बनाएको दुखेसो उनले पोखे ।
‘आफ्नो पढाइलाई निरन्तरता दिँदै काम गरेर परिवार चलाउन सम्भव नै छैन,’ उनी थप्छन्, ‘सरकारले हामीजस्तो अवस्थाका परिवारलाई हेरिदिए धेरै नै राहत मिल्ने थियो ।’
मृतकको परिवारमा दुई श्रीमति चार छोरा र तीन छोरी छन् । छोरीहरु सुजिता कुमारी, रिँकुकुमारी र रजनीकुमारीको विवाह भइसक्यो भने छोरा जितेन्द्र हाल कतारमा कार्यरत छन् । त्यस्तै अर्का छोरा रोशन, राजन र साजन भने पढ्दै छन् ।
बाबुको मृत्युपछि उनीहरुको पढाइमा समेत समस्या पर्दै आइरहेको छ । भर्खरै मात्र एसईइ उत्तीर्ण मृतकका छोरा राजनले हाल बाबुको निधनपछि पढाइलाई निरन्तरता दिन सकिरहेका छैनन् । भने कक्षा ८ मा अध्ययनरत साजनको पनि बाबुको निधनपछि पढाइमा समस्या आएको छ ।
वैसाख १८ गते कम्पनीमा काम गर्दागर्दै पेट दुख्न थालेपछि अस्पताल गएका उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको र केही दिनमै हस्पिलबाट डिस्चार्ज हुने खबर परिवारमा आएको थियो ।
तर भोलीपल्टै साथीले उनले संसार छाडिसकेको खबर परिवारले पाएको थियो । शाह जस्तै अन्यको पनि सामान्य समस्या लिएर उक्त अस्पताल गए पनि मृत्यु हुने गरेको जानकारी परिवारले पाएको छ ।
शरीरको कुनै अंग अस्पतालले निकालिदिएपछि उनको मृत्यु भएको हुनसक्ने आरोप परिवारको छ । विभिन्न निकायले सडक दुर्घटना र काम गर्दागर्दै अंगभंग भए मात्रै कम्पनीले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था रहेको बताउँदै आएका छन् ।
विगत ११ वर्षदेखि मृतकले सोही कम्पनीमा काम गर्दै आएका थिए ।
मृतकको धनुषामा २ कठ्ठा मात्र जमिन छ । उक्त जमिन खोलाको किनारमा भएका कारण बाली उठाउने समयमा बाढीले बगाएर लैजाने गर्छ ।
वैदेशिक रोजगार प्रवद्र्वन बोर्डले मृतकको परिवारलाई क्षतिपूर्ति बापत रु ७ लाख दिँदै आएको छ ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने दोस्रो जिल्ला धनुषा
वैदेशिक रोजगार प्रवद्र्वन बोर्डको तथ्यांक अनुसार वैदेशिक रोजगारीका क्रममा बढी मृत्यु हुने जिल्ला मध्ये दोस्रो जिल्ला धनुषा रहेको देखाएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को तथ्यांक अनुसार धनुषामा मात्र मृत्यु हुनेको संख्या ३३ रहेको छ । त्यस्तै पहिलो नम्बरमा भने मोरङ जिल्ला रहेको छ । सोही आर्थिक वर्ष अनुसार नै मोरङमा मृत्यु हुनेको संख्या ३९ रहेको देखाएको छ ।
रोजगारीमा जाँदा तालिम नै नलिइ दलालमार्फत नेपाली कामदार विदेश जाने गरेकाले त्यस्तो समस्या आएको बोर्डका सुचना अधिकारी पवित्रा खनालले जानकारी दिइन् । ‘वैदेशिक रोजगारी सम्बन्धि चेतनाको अभावका कारण नै त्यस्तो समस्या आउने गर्छ ।’
मृत्यु भएकै परिवारबाट नै फेरी जान्छन् विदेश
नेपालबाट विदेशमा रोजगारीका लागि जानेको परिवार उसैको भरमा चलिरहेको हुन्छ । उसको मृत्युपछि परिवारमा ठूलो आर्थिक समस्याले सताउन थाल्छ । जसको विकल्पमा त्यही परिवारको अर्काे सदस्य विदेशलाई नै रोजगारीको प्रमुख गन्तव्यका रुपमा रोज्ने गरेका छन् ।
त्यसैगरी आर्थिक वर्ष २०७३/०७४ मा ३८ लाख ३ हजार ४९३ जना गएका थिए भने आर्थिक वर्ष २०७४/०७५ मा भने ३५ लाख ४ हजार ८२ जना गएका छन् ।
यो आर्थिक वर्षमा मात्र वैदेशिक रोजगारीका क्रममा जम्मा ८२१ जनाको मृत्यु भइसकेको छ । जसमध्ये सबैभन्दा बढी मलेसियामा जम्मा २५५ जनाले ज्यान गुमाएका छन् ।
मलेसियामा सबैभन्दा धेरै नेपालीले ज्यान गुमाएपछि नेपाल सरकारले केही समयदेखि मलेसियामा कामदार पठाउन समेत रोक लगाउँदै आएको छ । विभिन्न दलालमार्फत जाँदा सबैभन्दा बढी समस्यामा परेपछि सरकारले रोक लगाएको हो ।
हाल भने सरकारले विचौलियाको समस्याबाट समाधानका लागि जिटुजी सम्बन्धि सम्झौताका लागि मलेसिया सरकारसँग कुरा अघि बढाइरहेको छ ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारका सदस्य पुनः विदेश जानु लज्जास्पद विषय भएको बोर्डकी सुचना अधिकारी पवित्रा खनालले बताइन् । ‘स्वदेशभित्रै रोजगारी दिन हामी चुकेका छौं ।’ उनले भनिन् ।
“
