तथ्यांकमा थाहा पाउनुहोस् दोस्रो चरणको निर्वाचनको नतिजा
“
काठमाडौं, साउन ११ । स्थानीय तहको दोस्रो चरणमा भएको निर्वाचनबाट ४१ प्रतिशत महिला र ५८ प्रतिशत पुरुष निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको अन्तिम तथ्याङ्कअनुसार यस निर्वाचनमा कुल १५ हजार नौ जना जनप्रतिनिधिहरू निर्वाचित भएका छन् ।
त्यसमा आठ हजार ८३२ जना (५८.८४ प्रतिशत) पुरुष र छ हजार १७७ जना (४१.१६ प्रतिशत) महिला निर्वाचित भएको निर्वाचन आयोगको सूचना प्रविधि व्यवस्थापन महाशाखाले जनाएको छ ।
गएको असार १६ गते १५ हजार ३८ पदका लागि भएको निर्वाचनमा ६२ हजार ४४३ उम्मेदवार चुनावी मैदानमा थिए । जम्मा दुई जना तेस्रो लिङ्गी उम्मेदवार भएकोमा कसैले विजय प्राप्त गर्न सकेनन् ।
कुल ३३४ पदका लागि भएको उपप्रमुख वा उपाध्यक्षको निर्वाचनमा प्ुरुष १९ जना र महिला ३१५ जना (९४ दशमलव ३१ प्रतिशत) निर्वाचित भएका छन् । तर, प्रमुख तथा अध्यक्षमा पदमा पुरुषको एकछत्र वर्चश्व देखिएको छ । सो पदमा एक प्रतिशत मात्रै महिला विजयी भएका छन् । नगरपालिकाको प्रमुखमा ११९ पदमध्ये एक जना मात्रै महिला निर्वाचित हुनुभएको छ भने २१५ गाउँपालिका अध्यक्षमा तीन जना महिला निर्वाचित हुनुभएको छ ।
उपप्रमुख एवम् उपाध्यक्षमा भने महिलाको उपस्थिति उत्साहजनक देखिएको छ । दुई हजार ८७३ वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा महिला २५ जना मात्रै निर्वाचित भए भने दुई हजार ८४८ जना पुरुष निर्वाचित भएका छन् । महिला सदस्यमा दुई हजार ८७३ जना निर्वाचित भए भने दलित महिला सदस्यमा दुई हजार ८४९ जना निर्वाचित हुनुभयो । तर, २४ पदमा दलित महिलाको उपस्थिति देखिएन । खुल्ला दुई सदस्य पदका लागि भएको निर्वाचनमा १११ जना महिला सदस्य निर्वाचित भए भने पाँच हजार ६३५ जना पुरुष निर्वाचित भएका छन् ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा काँग्रेसले १२२ प्रमुख तथा अध्यक्ष पदमा जित हासिल गरेको छ भने नेकपा एमालेले १५१ प्रमुख तथा अध्यक्षमा जितेर सबैभन्दा ठूलो दल भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्रमुख र अध्यक्षमा ३८ स्थानमा विजयी प्राप्त गरेको छ ।
दोस्रो चरणको निर्वाचनमा उमेर समूह अनुसार २१ देखि ४० वर्ष उमेर समूहमा जम्मा छ हजार १२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा प्रमुख तथा अध्यक्षमा ७५ जना युवा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । सबैभन्दा बढी एक हजार ५८८ युवा दलित महिला निर्वाचित भए भने महिला सदस्यमा एक हजार ३९१ जना निर्वाचित भएका छन् ।
यसैगरी ४१ देखि ६० उमेर समूहमा सबैभन्दा धेरै सात हजार ८६६ जना निर्वाचित भएका छन् । जसमा २१९ प्रमुख तथा अध्यक्षमा निर्वाचित भए भने उपप्रमुख तथा उपाध्यक्षमा १८१ जना जनप्रतिधि विजयी भएका छन् । त्यसैगरी ६१ देखि माथि उमेर समूहमा जम्मा एक हजार १३१ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा प्रमुख र अध्यक्षमा ४० जना विजयी भए भने उपप्रम्ुख तथा उपाध्यक्षमा सात जना निर्वाचित भएका छन् ।
आयोगका अनुसार दोस्रो चरणमा निर्वाचनमा ६४ लाख ५० हजार ६४८ कुल मतदाता रहेकामा ३४ लाख ४८ हजार २९६ मतदाताले मतदान गरेका थिए । खसेको मत जम्मा ७६.५१ छ भने सदर मत प्रतिशत ८७.३२ छ । यस निर्वाचनमा १२.६८ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
सबैभन्दा बढी मत बदर कपिलवस्तुमा २२.७२ प्रतिशत मत भएको छ भने सबै कम गुल्मी जिल्लामा ५.६२ प्रतिशत । कपिलवस्तुमा सात पदका लागि तयार पारिएको मतपत्रमा तीन लाख ५१ हजार १९ मत बदर भएको पाइएको हो । आयोगले एउटा मत पत्रलाई छ समूहमा विभाजन गरी सात पदमा मतदानको व्यवस्था गरेको थियो । सदस्यको मतचिह्नमा रहेका एक र दुई चिह्नलाई आयोगले एउटै समूहमा राखेको थियो ।
निर्वाचनमा स्वतन्त्रसहित ३४ वटा राजनीतिक दलले भाग लिएकोमा सबैभन्दा बढी नेकपा एमाले र सबै कम चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले मत प्राप्त गरेका छन् ।
आयोगका अनुसार निर्वाचनमा एमालेले सातवटै पदमा गरी एक करोड तीन लाख ८४ हजार ५३६ मत पाएको थियो भने सबैभन्दा कम ल्याउने चुरे भावरले दुई मत मात्र प्राप्त गरेको छ । सो दलले प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउँदा दुई मत प्राप्त गरेको आयोगको अभिलेखमा देखिएको छ ।
यसैगरी संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले ९६ लाख ११ हजार २०८, माओवादी केन्द्रले ४९ लाख ७९ हजार ६०८ मत प्राप्त गरेको छ । १० हजार भन्दा कम मत प्राप्त गर्ने दलको सङ्ख्या २१ छ भने सयभन्दा कम मत प्राप्त गर्ने दलको सङ्ख्या सात छ, गोरखापत्रमा खबर छ ।
“