पद नपाउँदा गच्छदारलाई यस्तो पिर ! कांग्रेस त्याग्ने संकेत


“
काठमाडौं, भाद्र १ । स्थानीय निकायको निर्वाचनसँगै फोरम लोकतान्त्रिकलाई नेपाली काँग्रेसमा विलय गराएका नेता विजयकुमार गच्छदार यतिबेला दोधारमा छन् । कांग्रेसमा भूमिका विहिन हुँदा फोरम पुर्नजिवित गर्नेकी कांग्रेस भित्रै भूमिका विहिन बनेर रहने गच्छदार दोधारमा छन् ।
प्रायः सत्तामा रहिरहन रुचाउने गच्छदार अबका ५ वर्षसम्म सत्तामा जानसक्ने अवस्था छैन । अहिले स्पष्ट बहुमतको सरकार भएकोले कांग्रेसले चाहेपनि सरकार ढाल्न सक्ने अवस्था छैन । यस्तोमा ०४० साल यता मात्रै १२ पटक मन्त्री भइसकेका गच्छदार पावर विहिन भएर बस्नुपर्दा उनमा छटपटि बढिरहेको छ ।
उनी कांग्रेसमा भने अनुसार भूमिका नपाए कांग्रेस त्यागेर फोरम लोकतान्त्रिक पुर्नजिवित गर्ने मनसायमा पुगेका छन् । यसका लागि उनले केहि दिन अगाडी (२९) गते आफ्नै निवासमा फोरम लोकतान्त्रिकका विस्वासपात्र नेता कार्यकर्तासँग छलफल नै चलाएका छन् । उक्त छलफलमा गच्छदारले आफ्ना विस्वासपात्रलाई पार्टी पुर्जगठनको संभावना सँगै अहिले कांग्रेसमा आफ्नो हैसियत र भूमिकाका बारेमा बोलेका थिए ।
गत २०७४ असोज ३० गते गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नेपाली काँग्रेससँग एकीकरण गरेर निर्वाचनमा गएको थियो । एकीकरण हुनुपूर्व दुई दलको बीचमा भएको सम्झौता हालसम्म कार्यान्वयन नभएकोले पनि गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रति रुष्ट रहेको स्रोतको दावि छ ।
स्रोतका अनुसार गच्छदारले पार्टी सभापति देउवा सिंगापुरबाट फर्केपछि आफ्नो र फोरम लोकतान्त्रिकबाट आएका नेता कार्यकर्ताको सम्मानजनक भूमिका माग्नेछन् । पार्टी सभापतिले यदी चासो नदिएको खण्डमा पुनः फोरम लोकतान्त्रिक पुर्नजिवित हुने संभावना छ ।’ गच्छदार समर्थक एक कार्यकर्ताले बताए ।
कांग्रेस संग एकीकरण हुन अगाडी कांग्रेसले गच्छदारलाई उपसभापतिको पद दिने र फोरमबाट केन्द्रीय समितिमा १५ जना समायोजन गर्ने सहमति थियो । भने, फोरममा रहेका सक्रिय सदस्यलाई कृयाशिल सदस्यको रुपमा स्वीकार गर्ने सहमति थियो ।
यसका साथै फोरमबाट सात सय महाधिवेशन प्रतिनिधि समायोजन गर्ने तथा तीन सय काँग्रेस महासमितिमा राख्ने सहमति थियो । यसका अलावा स्थानीय, जिल्ला र प्रदेश तहसम्म सम्माजनक सहभागी गराउने सहमति भएको थियो । तर, एकीकरण भएको १० महिनाभन्दा वितिसक्दा पनि समायोजन नभएपछि फोरमका नेता कार्यकर्ताहरुमा असन्तुष्टि चर्किएको छ ।
तत्कालीन फोरमका महासचिव भर्तेन्दु मल्लिकले लाखौं कार्यकर्ता सहित फोरमलाई विलय गराएर कांग्रेसमा प्रवेश गरेको अर्थै नभएको बताए । ‘नेपाली काँग्रेसमा एउटा मान्छे प्रवेश गर्यो भने पुरै तामझामका साथ पार्टी प्रवेश गराइन्छ । तत्कालै उसलाई कुनै न कुनै ठाउँ पनि दिइन्छ, तर हामी लाखौं कार्यकर्ताका साथ एकै पटक प्रवेश गरेकालाई भने केहि गरिएको छैन ।’ उनले भने । मल्लिकले १० महिना वितिसक्दा समेत समायोजना नहुँदा कार्यकर्ताहरुको धैर्यताको बाँध टुटेको प्रतिकृया दिए ।
काँग्रेसका सभापति देउवा सिंगापुरबाट फर्केपछि यसबारे छिनोफानो हुने र कुरा मिलेन भने राष्ट्रिय भेला गरेर विकल्पका बारेमा छलफल गरिने तय गरिएको छ ।
कांग्रेसले गच्छदारलाई संसदीय दलको उपनेता दिएको छ भने जितेन्द्र देवलाई राष्ट्रियसभाको सदस्य दिएको छ । अन्य नेता कार्यकर्ताहरुलाई कुनै भूमिका दिइएको छैन । सम्झौताअनुसार गच्छदारबाट स्थानीय, प्रदेश तथा केन्द्रमा तत्कालीन फोरम नेपालका नेता कार्याकर्तालाई पनि टिकट दिइने भनेपनि चुनावमा सम्झौता विपरित थोरैलाई मात्र टिकट दिइएको गच्छादारको जिकिर छ ।
सहमतिमा प्रतिनिधिसभातर्फ समानुपातिकमा एक जना राख्ने सहमति भएपनि त्यो कार्यान्वयन नभएको गच्छदार समुहको दावि छ ।
गच्छदारले उपसभापति पद पाउने संभावना समेत नरहेपछि उनीहरु लगभग पार्टी परित्यागको मनस्थितिमा पुगेका छन् । पोर्टफोलियो अनुसार गच्छदारले आफू एक नम्बरको उपसभापति हुने दावी गर्दै आएका थिए तर देउवाले गच्छदारलाई नदिएर विमलेन्द्र निधिलाई उपसभापति दिएका छन् ।
विजयकुमार गच्छदारले २०२६ सालदेखि नेपाली काँग्रेसमा रहेर राजनीति सुरु गरेका हुन् ।
व्यक्तिगत रूपमा गच्छदारले पाएको सफलता र सत्ताका कारण उनलाई नेपाली राजनीतिमा ‘चेसको घोडा’ नै भन्ने गरिन्छ । गच्छदारले सत्ताका लागि कतिबेला कहाँ कसलाई अंगाल्छन् र लात हान्छन् भन्ने कसैले अनुमान गर्न सक्दैनन् । उनी राजनीतिमा हुने छक्का–पञ्जाका सफल खेलाडी हुन् ।
गच्छदारको शरीरमा कांग्रेसी ‘खुन’ नै छ । तर, व्यक्तिगत स्वार्थ पुरा गर्न उनले काँग्रेसलाई यसरी लात हानेका छन् की अबको मधेसको राजनीतिमा काँग्रेसलाई विगतमा जस्तो बहुमत आउने ठाउँ नै छैन । उनी जति पटक सत्तामा गए, मन्त्री भए पनि आफ्नै गृह जिल्लालाई समेत केही गर्न नसक्ने नेताका रूपमा परिचित छन् । उनको गृहजिल्ला सुनसरी क्षेत्र नं. ३ हो । उनले यहाँबाट धेरै निर्वाचन लडेर विजयी भए पनि त्यहाँका जनताको विकास र संवृद्धिमा गाउँमा दुई चार वटा कल्भर्ट र पुल बन्नु बाहेक केही भएको छैन ।
उनी काँग्रेसबाट तीनवटा संसदीय निर्वाचनमा विजयी भएका व्यक्ति हुन् । २०४८, २०५१ र २०५६ को निर्वाचनमा उनले जितेका थिए । भने, त्यसपछि पहिलो संविधान सभा र दोस्रो संविधान सभामा पनि विजयी भएका थिए । मधेसमा उनको वर्चस्व बढ्दै गएपनि ०६४ साल पछिको मधेस आन्दोलनमा उनले पार्टी परित्याग गरेर उपेन्द्र यादवसँग गएका थिए ।
मधेसी जनाधिकार फोरमबाट गच्छदार माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारमा मन्त्री बने । गच्छदारले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल फुटाएर आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) २०६६ साउनमा गठन गरेका थिए । उनी माधव नेपाल सरकारमा पहिलो पटक उपप्रधान तथा गच्छदार भौतिक योजना मन्त्री भएका थिए ।
त्यसपछि डा.बाबुराम भट्टराईको नेतृत्वको सरकारमा गच्छदार उपप्रधान तथा गृहमन्त्री भए । दोस्रो संविधान सभापछि गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा गच्छदार उपप्रधान तथा भौतिक योजना मन्त्री भए । भने, प्रचण्ड नेतृत्वको सरकारमा अन्तिम समयमा सहभागी भए । र, अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधान तथा स्थानीय विकास मन्त्री बन्न सफल भए ।
उनी, गृहमन्त्री, स्थानीय विकास मन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री, सञ्चार राज्य मन्त्री, निर्माण तथा यातायात मन्त्री जस्ता महत्वपूर्ण स्थानमा पुगिसकेका छन् । उनी तीन पटक निर्माण तथा यातायात मन्त्री, तीन पटक भौतिक तथा योजना, दुई पटक जलस्रोत मन्त्री समेत भईसकेका व्यक्ति हुन् । गच्छदार अहिलेसम्म १२ पटक मन्त्री भएका छन् ।
उनले गएकाे प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपा एमालेकी उम्मेद्वार भगवती चाैधरीसँग प्रतिष्पर्धा गर्दा वुथ क्याप्चर गरेर, मतगणनामा धाँधली गरेर निर्वाचन जितेकाे भन्दै सर्वाेच्चमा मुद्दा विचाराधिन समेत रहेकाे छ ।
नेपाली राजनीतिमा सदैव शक्ति र सत्तामा भएपनि गच्छदारले नेपाली जनताका लागि कुनै गतिलो काम त गर्न सकेनन् । उनी ३ /३ पटक मन्त्री भएको निर्माण तथा यातायात र भौतिक योजना निर्माण मन्त्रालय अहिले सबैभन्दा बढि भ्रष्टाचार हुने क्षेत्रका रूपमा परिचित छ ।
“
