वाजपेयीको अन्तेष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान

काठमाडौं, भदौ १ । भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको निधनको शोक सन्देश लिएर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली प्रस्थान गरेका छन् ।

मिर्गौला र छातिको समस्याबाट ग्रसित भारतीय जनता पार्टीको संस्थापकसमेत रहेका वाजपेयीको हिजो निधन भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार वाजपेयीको अन्त्येष्टिमा नेपाल सरकार र नेपालीको प्रतिनिधित्व गर्दै सहभागी हुन परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली दिल्ली प्रस्थान गरेका हुन् ।

त्यस्तै वाजपेयीको निधनमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शोक सन्देश पठाएका छन्। उनले समकक्षी मोदीलाई पठाएको सन्देशमा नेपाल र नेपाली जनताको तर्फबाट समवेदना प्रकट गर्दै वाजपेयीको निधनले भारतले मात्र नभई विश्वले राजनेता गुमाएको बताएका छन्।

त्यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले बाजपेयीको निधनको खबरबाट आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको बताएका छन्।

सभापति देउवाले एक शोक सन्देश जारी गरी स्वर्गीय बाजपेयी नेपाल र नेपाली जनताका एक परम मित्र र नेपालप्रति सधैँ शुभेच्छा राख्ने राजनेता हुनुहुन्थ्यो भन्दै सन्देशमा आधुनिक भारतको निर्माणमा विकासको नयाँ बाटो देखाउन स्वर्गीय बाजपेयीको ठूलो योगदान रहेको उल्लेख गरेका छन् । उनको निधनले दक्षिण एशियाकै लोकतन्त्रवादी व्यक्तित्व गुमेको अनुभव आफूलाई भएको श्री देउवाले बताएका छन् ।

उनको अन्त्येष्टि आज अपराह्न पाँच बजे नयाँ दिल्लीको राजघाट नजिकै गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seven =