चिकित्सक संघकाे आन्दोलन भदौ १५ सम्म स्थगित


“
काठमाडौँ, साउन ३१ । नयाँ मुलुकी ऐनको विरोधमा चिकित्सक संघले भदौ १ गतेदेखि गर्ने भनिएको आन्दोलन १५ दिनका लागि स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मुलुकी ऐनमा रहेको प्रावधान संशोधन गर्ने आश्वासन दिएको भन्दै चिकित्सक संघले आन्दोलन १५ दिनका लागि स्थगित गरिएको हो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले प्रम ओलीबाट भदौ १ बाट लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्ने आश्वासन पाएकाले आन्दोलन स्थगित गरिएको बताए ।
संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर त्यस ऐन नेपालका चिकित्सक र स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको भन्दै संशोधन हुनुपर्ने बताए ।
चिकित्सकहरुले यसअघि सोमबार पत्रकार सम्मेलन गरेर देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने घोषणा गरेका थिए ।
संघले यसअघि बिरामी पनि नजाँच्ने जनाएको थियो । अध्यक्ष श्रेष्ठले भदौ १ देखि कार्यान्वयनमा आउने मुलुकी अपराधसंहितामा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भए ५ वर्षसम्म कैद र लापरबाहीले मृत्यु भए ३ वर्ष कैदको व्यवस्था संशोधन गर्ने आश्वासन प्रमले दिएको बताए ।
सरकारले कानुन संशोधन गर्ने आश्वासन दिएपछि १५ दिन पर्खिने संघको निर्णय छ । तर, १५ दिनमा पनि माग पुरा नभए एप्रोन र लाइसेन्स मेडिकल काउन्सिलमा बुझाउने चेतावनी समेत दिएको छ।
“
