धरान उपमहानगरपालिकाको वार्षिक समिक्षा


“
धरान, साउन ३१ । सुनसरीको धरान उपमहानगरपालिकाले आफ्नो वार्षिक समिक्षा गरेको छ ।
विहिबार शुरु भएको बार्षिक समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै धरानका प्रमुख प्रशासकिय अधिकृत सुमन घिमिरेले उपमहानगरपालिकाले तय गरेका योजना तथा कार्यक्रमले लक्षित वर्गलाई समेट्यो समेटेन त्यो कुरा महत्वपूर्ण रहेको बताए ।
समिक्षा गर्दा आय ब्यय विवरण प्रस्तुत मात्र नभई आफुले गरेको कार्यले कस्तो प्रभाव पार्न सफल भयो र लक्षित समुह लाभान्वित भए भएनन् त्यसमा समेत जोड दिनुपर्ने अधिकृत घिमिरेले बताए ।
अन्य उपमहानगरपालिकाको तुलनामा धरानको कार्य प्रगति समेत राम्रो रहेको भन्दै आगामी दिनमा कसरी अगाडी बढ्दा लक्षित वर्ग लाभान्वित हुन सक्ने त्यसतर्फ ध्यान दिइएको बताए ।
उनले कानुनी प्रक्रिया पुरा गरेर भएपनि सेवा प्रदान गर्न आफ्ना मातहातका कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए ।
अधिकृत घिमिरेले धरानको आर्थिक वर्ष २०४/७५ को आन्तरीक आय ब्ययको प्रगती विबरण पेश गर्दै चालु खर्च १९.७ र पुजीगत खर्च तर्फ ८०.३ प्रतिशत खर्च हुनुका साथै नगरभित्रका गौरबका आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गर्ने निती लिइएको बताए ।
अधिकृत घिमिरेले खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व धरान खानेपानी बोर्डमा हस्तान्तरण हुने निर्णय, नगरलाई पूर्णरुपमा बालमैत्री घोषणा गर्ने अभियान अन्तर्गत १३ र १४ वडालाई बालमैत्री घोषणा गरिएको, उपमहानगरपालिका कार्यालय तथा सबै वडा कार्यलयहरुका लागि दर्ता चलानी सम्बन्धी सफ्टवेयर सञ्चालन र कामहरु गर्न सुरु गरिएको जानकारी दिए ।
यसैगरी उपमहानगरपालिकाले १२ वटा कानुनहरु निर्माण गरी लागु गरेको जानकारी दिइएको छ ।
धरानमा नयाँ बसपार्क निर्माण, फोहोर मैला ब्यवस्थापनका लागि समिति निर्माण र धरानको पर्यटन प्रवद्र्वनका लागि थाउजेन्ट बिग बुद्ध निर्माण गर्न सहमति दिइएको छ ।
कृषि विकास कार्यक्रममा वडा नं ४, ५, ६, १७ र २० लाई कृषि क्षेत्र घोषणा, खेलकुदका लागि रंगशाला लगायतका विभिन्न खेलकुद पुर्वाधार निर्माण, सुकुम्बासी समस्या समाधानका लागि समिति गठन गरिएको बताइएको छ ।
अधिकृत घिमिरेले वार्षिक समिक्षा कार्यक्रममा भौतिक प्रगतीतर्फ सडकदेखि स्लाब १४ वटा निर्माण सम्पन्न लगायतको जानकारी दिएका थिए ।
वार्षिक समिक्षा कार्यक्रममा धरान उपमहानगरपलिकाका प्रमुख चुनौतीहरुमा पूर्वाधार विकास रहेको बताइएको थियो ।
धरान उपमहानगरपालिका कार्यवाहक मेयर मन्जु भण्डारीको प्रमुख आतिथ्यतामा भएको वार्षिक समिक्षामा कार्यालयका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
“
