कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्रीले भने––‘काँग्रेस छोड्न ढिलो गर्नुभयो’

“
काठमाडौँ, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि, सुशासन, सदाचार, समाजवादको नयाँ विमान उडाउने तयारीमा सरकार लागेको बताएका छन् ।
बिहिबार पार्टी मुख्यालय धुम्बाराहीमा काँग्रेस, राजपालगायत पार्टीका नेता–कार्यकर्तालाई ने क पा मा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले जति नै खुट्टा तानेपनि सरकार समृद्धिको विमान उडाउने तयारीमा रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको कार्यप्रति कडा आलोचना गरिरहेका बेला उनले कुनै न कुनै विरोधको एजेन्डा बनाएर सरकारलाई काम गर्न नदिएको बताए ।
विभिन्न पार्टीका नेता–कार्यकर्तालाई ने क पा मा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, “सरकारलाई कमजोर बनाउन नेपाली कांग्रेसले षड्यन्त्र बुनिरहेको छ । जति नै षणयन्त्र बुनेपनि हामी समृद्धि, सुशासन, सदाचार, समाजवादको नयाँ विमान उडाउने तयारीमा छौं ।’
नेपाली कांग्रेसबाट पार्टी प्रवेश गरेकालाई विशेष धन्यवाद दिँदै प्रधानमन्त्रीले काँग्रेसलाई ढिलो छोडेको बताए । ‘समाजवादको यात्राको लागि मौरीको साथमा लागेमा फूलको थुङ्गामा पुगिन्छ, झिङ्गाको साथ लागेमा फोहोरको थुप्रोमा पुगिन्छ ।’ उनले भने, ‘आज पार्टी प्रवेश गर्ने साथीहरु सबैले मौरीको साथ रोज्नुभएको छ, हामी सबै फूलको थुङ्गामा पुग्छौं, ढिलै भएपनि कांग्रेस छोड्नुभयो, राम्रो गर्नुभयो ।”
पार्टी स्थापना गरेर सत्तामा पुर्याएका गणेशमान सिंहले उहिलै कांग्रेस गनायो भनेर छोडेको उनको भनाइ छ ।
यस्तै उनले भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा डाक्टरलाई कारबाहीको व्यवस्था कडा राखिएको भन्दै चिकित्सक संघले विरोध जनाइरहेका बेला प्रधानमन्त्रीले अनावश्यक भ्रम फैलाउने काम भएको आरोप लगाएका छन् ।
उनले डाक्टरको विषयमा ५० वर्षदेखि एउटै कानून रहेको भन्दै यसमा भ्रम नफिजाउन आग्रह गरे ।
“








