रोनाल्डो बिनाको रियल पराजित, एट्लेटिको बन्यो ‘युइएफए सुपर कप’ को च्याम्पियन


“
साउन, ३० । युइएफए सुपर कपमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान सम्मिलित छैनन् । उनीहरु मैदानमा नहुँदा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई खेल जित्ने अवसर मिलेको छ ।
रोनाल्डो र प्रशिक्षक जिनेदिन विना रियलले हारको सामना गर्नुपरेको छ । स्पेनिस क्लब एट्लेटिको मड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा डर्बी क्लब रियल मड्रिडलाई अतिरिक्त समयमा ४–२ गोल अन्तरले हराएर एट्लेटिको च्याम्पियन बनेको हो ।
इस्टोनियामा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन डिएगो कोष्टाले दुई गोल गरे । यस्तै सउल निगुएज र कोकेले समान एक एक गोल गरे ।
क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि ठुला भिडन्तका लागि मैदान उत्रिएको रियलका लागि करीम बेन्जिमा र सर्जियो रामोसले एक एक गोल फर्काए । स्टार पोर्चुगिज फरवार्ड रोनाल्डो यसै सिजन रियलबाट इटालियन क्लब युभेन्ट्स गएका छन् ।
खेलको निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा एट्लेटिको सफल भयो ।
अतिरिक्त समयमा निगुएज र कोकेले गोल गर्दै एट्लेटिकोलाई उपाधि दिलाए । निगुएजले खेलको ९९ औं र कोकेले १०५ औं मिनेटमा गोल गरे ।
त्यसअघि प्रतिस्पर्धात्मक बनेको खेलको ४९ सेकेण्ड मै कोष्टाले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाए । खेलको २७ औं मिनेटमा रियलका बेन्जिमाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । तर, खेलको ७९ औं मिनेटमा एट्लेटिकोका कोष्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ गोलको बराबरी ल्याएका थिए ।
च्याम्पियन्स लिग बिजेता र युरोपा लि बिजेताबीच हुने सुपर कपको उपाधि एट्लेटिकोले तेस्रो पटक जितेको हो । एट्लेटिको सन् २०१२ पछि युरोपा कप बिजेताको रुपमा युरोपा कप जित्ने पहिलो टोली हो ।
एट्लेटिको युरोपा लिग बिजेता र रियल च्याम्पियन्स लिग बिजेताको बन्दै सुपरको उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।
रोनाल्डो ९ वर्षको रियल मड्रिड बसाइपछि यहि सिजन ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका छन् । रियल मड्रिडका नयाँ प्रशिक्षक जुलियन लोपेतेगीका लागि पनि यो खेल पहिलो प्रतिस्पर्धात्मक खराब रह्यो । जिनेदिन जिदानले छोडेपछि लोपेतेगी रियलको जिम्मेवारी सम्हाल्न आएका हुन् ।
रोनाल्डोले छोडेपछि क्लबमा उत्पन्न भएको खाली पूरा गर्ने प्रयासमा रियल मड्रिड छ । रोनाल्डोले छोड्दाको फाइदा खेलाडीका रुपमा आफूलाई स्थापित गर्नका लागि मार्को एसेन्सिओ र ग्यारेथ बेललाई मौका छ ।
अहिले नै उनीहरुले त्यस्तै करामत भने देखाइ सकेका छैनन् । रोनाल्डो बिनाको यात्रा रियल मिड्रडका लागि कठिन हुने भने पक्का छ ।
एजेन्सी
“
