सुन तस्करका ठूला माछा कुन नदीमा पौडी खेलिरहेका छन् ?

साउन ३०, काठमाडौं । सुन तस्करी काण्डमा सरकारले ठूला दोषिलाई उन्मुक्ति दिन खोजेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद मीना सुब्बाले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

आज बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुब्बाले सुन तस्करी काण्डमा साना माछा पक्राउ गरेको र ठूला माछाले उन्मुक्ति पाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘सुन तस्करीका भुरा माछाहरु पक्राउ पर्दा ठूला माछा कुन नदीमा पौडी खेलिरहेका छन् ?’ उनले संसदमा सरकार समक्ष प्रश्न गरिन् । उनले सुन तस्करीमा संलग्न सानाठूला सबैले सजाय पाउनुपर्ने जिकिर गरिन् । मंगलबार मात्रै गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीसँग जोडिएका ठूला माछा पक्राउ परिसकेको बताएपनि सरकारले ठूला तस्करीलाई अझैसम्म सार्वजनिक गर्न सकेको छैन ।

सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधित्व गरेकी सांसद सुब्बाले सपथ खाएछि सुरु सुरुमा मन्त्रीहरुले राम्रै काम गरेपनि अहिले सबै सुस्ताएको जिकिर गरिन् ।

उनले पहिले मन्त्रीहरुले लोकप्रियताको लागि केही कामहरु गरेपनि पछिल्लो समय काम नगरी दिन कटाउँदा जनतामा निराशा छाएको दावि गरिन् । सुब्बाले नामै लिएर गृहमन्त्री रामबहादुर थापा, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतले सुरुमा राम्रो गरेपनि अहिले केहि गर्न नसकेको दावि गरिन् । ‘अहिले के कारणले सुस्ताएका छन् ? सिन्डिकेट पक्षधर यातायात व्यवसायी, वैदेशिक रोजगारीमा हुने ठगी र ठेक्का लिएर समयमा काम नसक्ने ठेकेदारहरुलाई किन ज्वाँइ राजा पालेझैँ राखेको ?’ उनले सरकारलाई प्रश्न गरिन् ।

सांसद पछिल्ला दिनहरुमा समसामयिक विषयलाई संसदमा वहसमा लैजाने र जनताका समस्यालाई राष्ट्रिय तहबाटै समाधान गर्नुपर्छ भन्नेमा लागेकि छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *