चलचित्र ‘पण्डित बाजेको लौरी’ माथि छानविन गर्न माग

काठमाडौँ, साउन ३० । चलचित्र पण्डित बाजेको लौरीको प्रदर्शनमा रोक लगाउन सांसदले माग गरेका छन् ।

वादी समुदायको कथामा आधारित कमेडी, प्रेम, बदला, द्वन्द्व मिसिएको चलचित्र पण्डित बाजेको लौरीको प्रदर्शनमा रोक लगाउन राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले संसदमा माग गरेका हुन् ।

साउन ४ देखि प्रदर्शनमा आएको फिल्मले वादी महिलाको अस्तित्वमाथि ठूलो आघात पुगेकोले फिल्मको विषयमा छानबिन गरी प्रदर्शनमा रोक लगाइ कारबाही गर्न सांसद सिंहले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म महिलालाई यौन व्यवसायीको रुपमा चित्रण गरिएकोमा सांसद सिंहले आपत्ति जनाएका हुन् ।

मंगलबारको राष्ट्रियसभा बैठकमा उनले भने ‘फिल्ममा महिलालाई यौन व्यवसाय गरेको देखाइएको छ, जसले वादी समुदायका महिलाको अस्तित्वमाथि ठूलो आघात परेको छ । संविधानको धारा १९ र धारा २४ विपरीत भएकोले यस सम्बन्धमा छानविन गरी प्रदर्शनमा रोक लगाउन माग गर्दछु ।’

फिल्म पण्डित बाजेको लौरीलाई दीपक ओलीले निर्देशन गरेका हुन्। फिल्ममा महेश दवाडीको कथा रहेको छ।

अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको समेत अभिनय समेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *