धोविखोलामा आएको बाढी बस्तीमा पस्यो, बासिन्दा प्रभावित

काठमाडौँ, साउन ३० । धोविखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पानीको बहाव धेरै भएका कारण बस्तीमा पसेको बताए
। बाढीले कपन नीलोपुल, गोपीकृष्ण, ओम अस्पताल, रातोपुल, कालोपुल, ज्ञानेश्वर, मैतीदेवी क्षेत्रका बासिन्दा धेरै प्रभावित भएको घिमिरेले जानकारी दिए ।

नीलोपुलमा राति एक बजे बाढी आएको र त्यस क्षेत्रको एउटा सानो पुल भत्काई पानी थुनिएपछि सतहबाट बस्तीमा बालुवासहित लेदो पानी पसेको स्थानीयबासीले बताएका छन् ।

त्यस्तै गए रातिको अविरल वर्षाले निर्माणाधीन बिजुली बजारको पुल थुनिँदा अनामनगर, बिजुली बजारलगायका बस्तीमा पानी पसेपछि त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् । घर, पसल, विद्यालय, होटल, पब्लिकेशनलगायतमा पानी छिरेको थियो ।

बाढीको क्षतिबारे बुझ्न बिहानै काठमाडौँ क्षेत्र नं १ का सांसद प्रकाशमान सिंह उक्त ठाउँ पुगेका थिए । उनले जनतासँग बाढीले पुर्याएको क्षतिबारे जानकारी लिदै बाढीपीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरे ।

सांसद सिंहले गृह मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी र काठमाडौँ महानगरपालिकामा टेलिफोन गरी पीडित बासिन्दाको समस्याबारे अवगत गराएका थिए । उनले सो क्षेत्रमा आगामी दिनमा बाढी नपसोस् भन्नेबारेमा दीर्घकालीन उपाय खोज्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *