भारतको ७२ औँ स्वतन्त्रता दिवसः नेपाललाई दियो ३० एम्बुलेन्स र ६ वटा बस

“
काठमाडौँ, साउन ३० । भारतमा आजको दिनको विशेष महत्व रहने गर्दछ । अंग्रेजबाट भारत स्वतन्त्र भएको अवसरमा हरेक वर्ष स्वतन्त्रता दिवसको दिन प्रधानमन्त्रीले लालकिल्लाबाट महत्वपूर्ण सम्बोधन गर्ने चलन भारतमा छ ।
भारतको ७२ औँ स्वतन्त्रताको अवसरमा नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको छ ।
लैनचौरस्थित भारतीय दूतावासमा बुधबार आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले भारतका तर्फबाट नेपालका विभिन्न संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गरेका हुन् ।
भारतीय दूतावासका कर्मचारीहरु, उनीहरुका परिवारलगायत नेपालमा रहेका भारतीय समूदायको समेत सहभागिता रहेको समारोहमा भारतीय सेनामा गइ वीरगति प्राप्त गरेका तथा अपाङ्गता भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो ।
भारतीय स्वतन्त्रता दिवसकै अवसर पारेर भारतले यसअघि नै विभिन्न सामाजिक संघसंस्थालाई ६ सय ९२ वटा एम्बुलेन्स, १३६ वटा बस उपलब्ध गराइसकेको छ ।
“








