दिल्लीको लालकिल्लाबाट मोदीले भनेः महिलालाई सुरक्षा दिन कुनै कसर बाँकी राख्दिन

काठमाडौँ, साउन ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिलालाई न्याय तथा सुरक्षा दिन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

भारतको ७२ औँ स्वतन्त्रताको अवसरमा दिल्लीको लालकिल्लाबाट बुधबार सम्बोधन गर्दै बलात्कारबाट देशलाई मुक्त गरी महिलालाई न्याय र सुरक्षा दिन कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।

भारतमा आजको दिनको विशेष महत्व रहने गर्दछ । अंग्रेजबाट भारत स्वतन्त्र भएको अवसरमा हरेक वर्ष स्वतन्त्रता दिवसको दिन प्रधानमन्त्रीले लालकिल्लाबाट महत्वपूर्ण सम्बोधन गर्ने चलन भारतमा छ ।

सोही अवसरमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने– ‘बलात्कारबाट देशलाई मुक्त गर्नुछ । पछिल्लो समय मध्यप्रदेश र राजस्थानमा बलात्कारीलाई फाँसीको सजाय दिइएको छ । यो खबरको प्रचार गर्न आवश्यक छ । महिलालाई न्याय दिन कुनै कसर बाँकी राख्दिनँ । आज सर्वोच्च अदालतमा तीन जना महिला न्यायाधीश छन्। स्वतन्त्रतापछि अहिलेको मन्त्री परिषदमा सबैभन्दा धेरै महिला छन्।’


संसदमा कानुन ल्याएर मुस्लिम महिलालाई आफूले राहत दिएको उनको भनाइ छ ।

साथै उनले कालो धन र भ्रष्टाचार माफ नहुने उल्लेख गरे । जतिसुकै कठिनाई आएपनि भ्रष्ट्राचारलाई नछोड्ने उनले दावी गरे । भाई भतिजावाद समाप्त भएको उनको भनाइ छ ।

‘आज तपाईंले खाना खाँदै गर्दा कर तिर्ने व्यक्तिको करबाट देशका तीन गरिब व्यक्तिले खाना खान पाएका छन्। यसको पुन्य सरकारलाई होइन, करदातामा जान्छ ।’ उनले भने, ‘सन् २०१३ सम्म सिधै कर तिर्ने चार करोड थिए, अहिले यो संख्या पौने सात करोड पुगेको छ ।’

भारत अंग्रेसको शासनबाट मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *