नेपालको १९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्ने सपना चकनाचुर

काठमाडौं, साउन १० । नेपालको १९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्ने सपना चकनाचुर भएको छ । एसियाली समूहको अन्तिम छनोट खेलमा मंगलबार नेपाललाई ९६ रनले हराउँदै अफगानिस्तान विश्वकपका लागि छानिँदा दोस्रो स्थानमा रहेर नेपालको यात्रा रोकिएको हो ।

सिंगापुरमा भएको खेलमा अफगानिस्तानले दिएको १९६ रनको चुनौती पछ्याएको नेपालले ४० ओभर ३ बलमात्र क्रिजमा टिकेर ९९ रनमात्र जोड्न सक्यो ।

दीपेन्द्रसिंह ऐरीले ८१ बलमा ४८ तथा पवन सर्राफ र प्रकाश केसीले समान १० रन बनाएबाहेक अरु कुनैपनि नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १९५ रन बनाएको थियो ।

इब्राहिम जद्रानले १०१ रन बनाएको इनिङमा सहाब आलमले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । यसअघि, अफगानिस्तानसँगको पहिलो खेलमा नेपाल १४१ रनले पराजित भएको थियो ।

योसँगै प्रतियोगितामा सबै ६ खेल जित्दै १२ अंकका साथ शीर्ष स्थानमा रहेको अफगानिस्तान विश्वकपका छानिँदा ८ अंकबाट दोस्रो स्थानमा समेटिएको नेपाल बाहिरिएको हो ।

मलेसिया र सिंगापुरसमेत गरी चार टिमले प्रतियोगितामा आपसमा २/२ खेल खेलेका हुन् । विश्वकपमा छानिन नसके पनि कप्तान सन्दीप लामिछानेले भने सम्झनयोग्य बलिङ गरेका छन् ।

६ खेलमा २४ विकेट लिएका सन्दीप ‘म्यान अफ द सिरिज’ भएका छन् । सन्दीपले मलेसियाविरुद्ध दुई खेलमा गरेर १२, सिंगापुरविरुद्ध दुई खेलमा ९ तथा अफगानिस्तानविरुद्ध दुई खेलमा ३ विकेट लिए । नेपाली टिम बुधबार मध्याह्न सिल्क एअरको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *