संसदीय समितिमा सुरु भयो जोड घटाउ, को छन् दाबेदार ?

काठमाडौं, साउन २९ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिका सभापतिहरूको निर्वाचन भदौ ५ मा हुने भएपछि दलहरु सभापति छान्ने छलफलमा जुटेका छन् ।

सभामुख कृष्णबहादुर महराले विषयगत समितिको सभापतिको निर्वाचन भदौ ५ गतेलाई तोकेका छन् । प्रमुख दलले संसदीय समितिमा योग्यता, क्षमता र विषयगत ज्ञान भएकालाई सभापतिमा चयन गर्नेगरी छलफल तीव्र पारेका हुन् ।

संसदीय समितिको सभापति नहुँदा लामो समयदेखि जेष्ठ सांसदको अध्यक्षतामा बैठक सञ्चालन हुँदै आएका छन् । संसदीय समिति गठनमा ढिलाइ भएसँगै समितिको सभापति चयनमा पनि ढिलाइ भइरहेको थियो । तर अब भदौ ५ गते समिति गठन हुने निश्चित भएपछि सभापति चयनका लागि दलहरु पनि जुटेका हुन् ।

तर दलहरुबिच कसले कति सभापति पाउने भन्नेमा भने कुरा मिलेको छैन । नेपाली कांग्रेसले तीन वटा सभापति पाउनु पर्ने माग गरिरहेको छ । तर नेकपा एउटा पनि सभापति नदिने पक्षमा छ ।लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलकै हुने भएकाले कांग्रेसले त्यो स्वत पाउने छ । तर अरु भने नदिने पक्षमा सरकार छ ।

८ वटा नेकपाले राख्ने र एउटा संघीय समाजवादी फोरमलाई दिने नेकपाको तयारी छ । त्यहि अनुसार सभापति छान्न नेकपा जुटिसकेको छ । सकेसम्म सहमतीमै छान्ने र त्यो नभए मात्रै निर्वाचनमा जाने तयारी दलहरुको छ ।

समितिको सभापति बन्न नेकपाबाट योगेश भट्टराई, पम्फा भुसाल, विरोध खतिवडा, कृष्णभक्त पोखरेल, विशाल भट्टराई, विन्दा पाण्डे, पूर्णकुमारी सुवेदी, अमनलाल मोदी, गणेश ठगुन्ना, बसन्त नेम्वाङलगायतले इच्छा देखाएको नेकपा श्रोतले जनाएको छ ।

त्यस्तै रामवीर मानन्धर, हितबहादुर तामाङ, अमृता थापा, सरला यादव, पवित्रा खरेल, शान्ति पाख्रिन, जयपुरी घर्तीलगायतले सभापति बन्ने चाहाना राखेका छन् ।

संसद नियमावलीअनुसार प्रतिनिधिसभाका १० र राष्ट्रियसभाका ४ समितिमध्ये ३३ प्रतिशत महिला सभापति हुनुपर्नेछ । नयाँ व्यवस्थाअनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति छन् ।

जसमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति,सार्वजनिक लेखा समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, शिक्षा तथा स्वास्थ्य समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास तथा प्रविधि समिति छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *