स्थानीय सरकारले नबुझी कर उठाए– अर्थमन्त्री

“
काठमाडौँ, साउन २९ । अर्थमन्त्री डा. युवराज खतिवडाले करसम्बन्धी विवाद छिट्टै अन्त्य गर्ने बताएका छन् ।
संसदको अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री खतिवडाले संविधानमा व्यवस्था भएबमोजिम नै कर असुली गर्ने दाबी गर्दै करसम्बन्धी विवाद अन्त्य गर्ने बताएका हुन् ।
बैठकमा उनले सर्वसाधारणलाई करको मारमा नपार्ने आश्वासन दिएका छन् । सर्वसाधारणलाई करको मारमा नपार्न सरकार सचेत रहेको बताउँदै उनले भने, ‘कतिपय स्थानीय सरकारले नबुझेर कर लागू गरेका छन्, त्यसमा सुधार गर्न सरकारले आन्तरिक छलफललाई अघि बढाएको छ ।’
अर्थमन्त्री खतिवडाले व्यापार घाटा कम गर्न सरकारले कृषि, उर्जा र निर्माण सामग्रीको उत्पादनमा वृद्धि हुने गरी योजना अघि सारेको स्पष्ट पारे ।
बैठकमा समितिका सदस्य तथा पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले वैदेशिक लगानी भित्र्याउन लगानी बोर्डलाई प्रभावकारी बनाउने गरी ऐन संशोधन गर्न माग गरे ।
“








