विप्लवको नेपाल बन्द : प्रभाव सामान्य, ठाउँ–ठाउँमा शंकास्पद वस्तु भेटियो

काठमाडौं,साउन २९ । उपत्यकासहित विभिन्न जिल्लामा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोध गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव आंशिक रुपमा परेपनि केही स्थानमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले भक्तपुरका दुई स्थानमा राखेको प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको छ । अरनिको सडकखण्ड अन्तर्गत सूर्यविनायक काँल्हाचास्थित सडक किनारमा र मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित ६ लेन सडकको सर्भिस ट्रयाकमा बिहानै प्रेसर कुकर बम भेटिएको थियो ।

खबर पाउनेवित्तिकै घटनास्थल पुगेको सेनाको टोलीले करिव ४५ मिनेटमा बम निस्क्रिय पारेको हो ।

यसैबीच, बन्दकर्ताले महेन्द्रराजमार्ग अन्तरगत पुर्वी नवलपरासीको गैडाकोटमा राजमार्गमा रोकिराखेका २ वटा ट्रकमा आगजनी गरेका छन् । महेन्द्रराजमार्गको रत्न पेट्रोलपम्प नजिक रोकिरहेको ना २ ख २५४८ , ना२ख ८४८७ पराल बोकेको गाडिमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

यस्तै अज्ञात समुहले त्रिभुवन राजपथ टिष्टुङ देउरालीमा बसमा आगजनी गरेका छन् । विद्यार्थी बोक्नको निम्ति काठमाण्डौतर्फ आइरहेको ना अ प स ४५ नम्वरको बसलाई थाहा नपा ११ स्थित देउरालीमा अज्ञात व्यक्तिहरुले रोकेर आगजनी गरेको स्थानीयवासीले बताए ।

यसैबीच बन्दको सामान्य प्रभाव रुपन्देहीमा पनि परेको छ । बन्दका कारण राजमार्ग तथा हुलाकी मार्गमा चल्ने सवारी ठप्प छन् । शिक्षण सस्था तथा बजारसमेत खुलेको छैन । विभिन्न क्षेत्रमा विष्फोटक पदार्थ भेटिएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा रहेको तुल्बुलीया पुलमा भेटिएको विष्फोटक पदार्थ सेनाको डिष्पोजल टोलीले विष्पोज गरेको हाम्रा सहकर्मी अमृता अनमोलले जनाएकी छिन् । यसअघि हिजो साँझ बुटवलको भारतीय पेन्सन क्याम्पमा विष्फोट भएको थियो ।

बिष्फोटबाट सामान्य क्षति भएको थियो ।

यस्तै बुटवल, तिलोत्तमा, देवदह लगायतका क्षेत्रमा समेत शंकाष्पद वस्तु भेटिएपछि सतर्कता अपनाएको प्रहरीले जनाएको छ । यस्तै रोटहटको चन्द्रपुर नगरपालिका ५ स्थित पूर्वपवश्चिम राजमार्गमा बिहान फेला परेको बम सेनाको टोलीले डिस्पोज गरेको छ ।

राजमार्ग छेउको पैनीको डिलमा राखेको बम स्थानियले देखेर बिहान प्रहरीलाई खबर गरेका थिए । यद्यपी बन्दको प्रभाव भने सामान्यप्राय रहेको हाम्रा सहकर्मी शिव पुरीले जनाएका छन् । यस्तै बाजुराको मार्तडीस्थित जिल्ला बडिमालिका नगरपालिकाको गेटमा पनि शंकास्पद वस्तु फेला परेको छ ।

नगरपालिकाको गेटमा राखिएको कालो झोलाभित्र टिनको डिब्बामा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सागर बोहराले जानकारी दिनुभयो । शंकास्पद वस्तु फेला परेपछि जिल्ला प्रशासन, नगरपालिका र रावलबाडाको आवतजावतमा प्रहरीले रोक लगाएको छ ।

काठमाण्डौ उपत्यकामा यातायातका साधन चलिरहेपनि लामो दुरीका सवारी सञ्चालन भने ठप्प भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव निरिक्षक पुरुषोत्तम नेपालीले जानकारी दिनुभयो । बन्दका कारण उपत्यकाका धेरैजसो शैक्षिक संस्थामा भने बन्दको प्रभाव परेको छ ।

बिहानै खुल्ने विद्यालय तथा क्याम्पसमा पढाइ हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *