नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) को दल दर्ता खारेज गर्न माग

काठमाडौँ, साउन २९ । ऋषि कट्टेल नेतृत्वको नेकपाले केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)को दल दर्ता खारेज गर्न माग गरेको छ ।

नेकपा एमाले र नेकपा माओवादीबीच एकता भएपछि पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) राखिएको थियो । उक्त नाम ऋषि कट्टेल नेतृत्वको नेकपा सँग मिल्दो–जुल्दो भएपछि नेकपाले खारेज गर्न माग गरेको हो ।

एकतापछि पार्टीको नाम परिवर्तन गरी निर्वाचन आयोगमा गरिएको दल दर्ता ऋषि कट्टेल नेतृत्वको नेकपासँग मिल्दो जुल्दो भएपछि ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा उजुरी गरेको हो ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड तथा धुम्बाराही र पेरिसडाँडास्थित नेकपाको कार्यालयविरुद्ध निर्वाचन आयोगमा उजुरी सरहको निवेदन पेश गरेको जानकारी दिँदै कट्टेलले सत्तासिन दलले दल दर्ता सम्बन्धमा गरेको असंवैधानिक, गैह्रकानुनी र दुर्नियतपूर्ण कामलाई प्रोत्साहन हुने गरी सञ्चार माध्यमले पनि समाचार सम्प्रेषण गरिरहेकोमा गुनासो पोखे ।

कट्टेल नेतृत्वको नेकपा निर्वाचन आयोगमा २०७० साउन २२ गते दर्ता भएको छ । तर, ओली, प्रचण्ड नेतृत्वको ने.क.पा. पनि निर्वाचन आयोगमा २०७५ जेठ २३ गते दर्ता भएको छ ।

‘बोलिचालिको भाषामा कोष्ट भित्रको ‘ने’ थोप्लो ‘क’ थोप्लो ‘पा’ थोप्लो भनी उच्चारण नगरुन्जेलसम्म दुवै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा एउटै पार्टी बुझिन्छ, आम जनमानसको बुझाई पनि त्यही छ । संचार जगत पनि त्यस्तै भाषाको भ्रममा छ,’ निवेदनमा उल्लेख गरिएको छ ।

दुवैको एउटै उच्चारण आउने तथा एउटै पार्टी बुझिने भएकाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको वैधानिकतामाथि नै हमला भएको निवेदनमा उल्लेख गरिएको छ ।

उनले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा को संवैधानिक एवं कानुनी हकको हनन भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) दर्ता बदर गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *