अब होसियार हुनुहोस् है, जवरजस्ती फोटो खिचे १ बर्ष कैद ‘भदौ १ देखि कार्यान्वयनमा’

काठमाडौं, साउन २९ । भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा अनुमतिविना कुनै पनि व्यक्तिको तस्वीर खिच्न नपाइने व्यवस्था गरिएको छ । अनुमतिविना कुनै व्यक्तिको तस्वीर खिच्न र निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन र प्रकाशन गर्न निषेध गरिएको छ । कानुनमा अनुमतिविना तस्वीर खिचेमा एक वर्ष कैद वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरिएको छ ।

अनुमतिविना एक व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागमा जोडेर अर्को तस्वीर बनाउने वा प्रकाशन गरेमा दुई वर्ष कैद वा २० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरिएको छ । कुनै सार्वजनिक स्थानको तस्वीर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्तिसमेतको तस्वीर खिचिए कुनै कसुर नलाग्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *