जलेश्वर कारागार आज पनि डुबानमा ! गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र जलमग्न

गौशाला, साउन २८ । भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ ।

जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो । एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले बताए ।

वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ ।

कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानीभित्र प्रवेश गरेको चौकीदार श्रीनारायण महतोले बताए ।

औद्योगिक क्षेत्र जलमग्न

राजविराज, साउन २८ । लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र अहिले जलमग्न भएको छ ।

पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्र जलमग्न हुँदा त्यहाँ रहेका उद्योगमा समेत पानी पस्दा लाखौँको क्षति भएको स्थानीय श्याम यादवले जानकारी दिए । उद्योगमा पानी पस्दा पाइप बनाउनमा प्रयोग हुने केमिकललगायत कच्चा पदार्थमा समेत क्षति भएको छ ।

भारत सरकारको सहयोगमा २२ बिगाहा क्षेत्रफलमा निर्मित उक्त औद्योगिक क्षेत्रमा पानीको निकास हुन नसक्दा जलमग्न भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

हाल उक्त औद्योगिक क्षेत्रमा मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्डष्ट्रिज र कृष्णा खाद्य उद्योग गरी तीन वटा उद्योग सञ्चालनमा छन् भने महालक्ष्मी खाद्य उद्योग, एसएण्डको इलेक्ट्रोड्स, पदमज्योति प्लाष्टिक उद्योग र अल नेप्लीज टि एण्ड कफी उद्योग बन्द छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *