काँग्रेसले सरकारविरुद्ध भ्रम सिर्जना गर्ने कोशिस गरिरहेको छ– परराष्ट्रमन्त्री ज्ञवाली

“
काठमाडौँ, साउन २७ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकार लोकतन्त्रको अभियन्ता रहेको दावी गर्दै प्रमुख विपक्षी कांग्रेसले सरकारविरुद्ध भ्रम सिर्जना गर्ने कोशिस गरिरहेको आरोप लगाएका छन् ।
आइतबार भक्तपुरमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले लोकतन्त्रलाई कमजोर हुन नदिन सरकार सचेत रहेको बताउँदै काँग्रेसले सरकारविरुद्ध भ्रम सिर्जना गर्ने कोशिस गरिरहेको आरोप लगाएका हुन् ।
साथै उनले लोकतन्त्रलाई मर्यादित बनाउन र जनताको जीवनस्तरसँग जोड्न सरकारले सक्दो पहल गरिरहेको पनि बताए ।
अधिनायकवादको आरोप चियाको कपमा आएको तुफानजस्तै भएको उनको दाबी छ । ‘चियाको कपमा आएको तुफानजस्तै अधिनायकवादको कृत्रिम हल्लाद्वारा भ्रम सिर्जना गर्ने कोशिस भइरहेको छ’ मन्त्री ज्ञवालीले भने, ‘म स्पष्ट भन्न चाहन्छु, वर्तमान सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छ ।’
सरकार छिमेकी मुलुक भारत तथा चीनसँगै अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध सुमधुर बनाउन प्रयासरत रहेको उनले बताए ।
“








