प्रधानमन्त्रीले मिडियालाई भने– नेकपाबाट लोकतन्त्रको हनन् हुँदैन, जथाभावी नलेख्नुस्

“
काठमाडौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको आरोप लगाएका छन् ।
आइतबार प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको आरोप लगाएका हुन् ।
वर्तमान सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानअधिकारप्रति प्रतिवद्ध रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एकछिन सरकारप्रति पूर्वाग्रही नभएर सोचौं, माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ? अनि यसलाई देखाएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रताविरोधी करार गर्न खोज्ने ?’
नेकपा लोकतन्त्रको जन्मदाता भएको उनको भनाइ थियो । ‘यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन हुने कुरा कल्पना गर्न पनि सकिन्न’ उनले भने ।
प्रम ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको स्पष्ट पारे । लोकतन्त्रकै लागि आफू १४ बर्ष जेल बसेको, पार्टीका कयौं नेता, कार्यकर्ता सहीद भएकोले वर्तमान सरकार र नेपाल कम्यूनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिल्यै पनि खतरा नहुने बताए ।
प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका हुने बताएका छन् ।
‘अहिले लेखिएका कुरा २० बर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ’ प्रधानमन्त्री ओलीको भनाई थियो । केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरे ।
“








