सिडियो कार्यालयको शौचालयबाट लिइन्छ शुल्क


काठमाडौँ, साउन १० । काठमाडौँ जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट वर्षौदेखि अनाधिकृत रूपमा पैसा उठाइरहँदा पनि कार्यालय वेखवर बनेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ बबरमहल स्थित कार्यालयको भुईतल्लामा शौचालयबाट एक महिलाले वर्षौदेखि शौचालय शुल्क उठाइरहँदा पनि प्रशासन बेखबर भएको हो ।
सार्वजनिक कार्यालयमा आउने दैनिक सेवा ग्राहीलाई निःशुल्क शौच गर्ने व्यवस्था गर्नुपर्ने भए पनि काठमाडौँ जिल्ला प्रशासनले भने मान्छे लगाएरै पैसा सङ्कलन गरेको छ । शौचालयको आडैमा बसेर ती महिलाले दिसा गरेवापत रु १० र पिसाब गरे बापत रु ५ लिने गरेकी छिन् ।

प्रशासनलाई थाहा छैन

जिल्ला प्रशासन कार्यालयले शौचालयबाट उठाईएको आम्दानी बाँधेको छैन । प्रशासनले शौचालयबाट के कति रकम उठ्छ र कसले प्रयोग गर्दछ खुलाएको छैन । जिप्रकाका लेखा अधिकृत प्रमोद मैनालीले आफू आउनु अघिदेखि नै शौचालयबाट पैसा उठाउने गरेको र त्यहाँ कसले कसरी ठेक्कामा लगाएको आफूलाई थाहा नभएको बताए । ‘यो विषयमा सूचना अधिकारीलाई बुझ्नुस्, लेखामा शौचालय ठेक्कामा दिएको नदिएको केही जानकारी छैन, त्यहाँको पैसा कसले लान्छ पनि थाहा छैन । लेखामा कुनै आम्दानी बाँधिएको छैन ।’ उनले भने ।
मैनालीले ती महिला कार्यालयको कुनै कर्मचारी पनि नभएको जिकिर गरे । ‘उहाँ यो कार्यालयका कुनै कर्मचारी हैनन् ।’ उनले भने । प्रशासनमा दैनिक काम लिएर आएका सेवाग्राही भने यसरी सार्वजनिक कार्यालयबाट शौच गरेको शुल्क लिएकोमा आक्रोस व्यक्त गर्छन् । ‘छोराको नागरिकताका लागि बानेश्वर संखमुलबाट आएका कविन्द्र प्रधानले सरकारी कार्यालयले शौचालय भाडामा लगाएको देख्दा अचम्म परेको बताए । ‘जनतालाई सर्वसुलभ सेवा दिनुपर्नेमा उल्टै पैसा लिनु त राम्रो हैन ।’ उनले भने ।

सहायक जिल्ला अधिकारीलाई थाहा छैन

मकालु खबरले सार्वजनिक कार्यालयको शौचालयबाट शुल्क उठाइने विषयमा जिप्रकाका सहायक जिल्ला अधिकारी प्रेम प्रसाद लुँइटेललाई सम्पर्क गर्दा उनले यो विषयमा आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । ‘शौचालयबाट शुल्क लिइन्छ भन्ने त थाहा तर, कसले कसरी उठायो भनेर चाहिँ केही पनि थाहा पो भएन त ! एक पल्ट लेखा शाखामा बुझ्न्स् न ल ।’ उनले भने ।

ती महिला को हुन् ?

सोमबार संवाददाताले शौच गरिसकेपछि सरकारी कार्यालयमा के को पैसा ? अनि तपाईँ चाहिँ कहाँको हो ? भनेर शौचालयबाट शुल्क उठाएको विषयमा ती महिलालाई सोध्दा ती महिला उल्टै झर्किइन् । ‘सिन्धुपाल्चोककी हुँ तपाईँलाई केको चासो, खुरुक्क पैसा दिएर जानुस् न ।’ उनले भनिन् । प्शासन स्रोतका अनुसार ती महिलालाई एक राजनीतिक दलका नेताले त्यहाँ राखेका हुन् । उनी वर्षौदेखि राजनीतिक शक्तिको आडबाट पैसा उठाइरहेकी छिन् । प्रशासन स्रोतका अनुसार ती महिलालाई कार्यालयले शौच शुल्क सङ्कलन गर्न राखेको हो । उनलाई किन शुल्क उठाएको र कसले लगाएको भनेर कुनै कर्मचारीले सोध्ने आँट गर्दैनन् । ‘हामी माथि बस्छौं कहिलेकाँही भुईँ तल्लामा काम पर्दा शौचालयमा जाँदा समेत पैसा लिएको देख्छौं तर, कसले उठाउन लगाएको हो सोध्ने आँट पनि भएन फुर्सद पनि भएन ।’ एक कर्मचारीले बताए ।
जिप्रकाको सुरक्षामा खटिएका एक प्रहरीले ती महिलाले कहिलेकाँही कार्यालय परिसरमा सरसफाईको काम पनि गर्ने गरेकोले आफूलाई यहिँको स्टाफ लागेर केही सोध्ने नगरेको जिकिर गरे ।

कति उठ्छ रकम ?

जिल्ला प्रशासन कार्यालयमा दैनिक तीन हजार देखी चार हजार मानिसहरू विभिन्न कामका लागि आउने गरेका छन् । राहदानी बनाउन, नागरिकता बनाउन तथा अन्य विभिन्न काम लिएर आएका १० प्रतिशत बढी सेवा ग्राहीले शौचालय प्रयोग गर्ने गरेका छन् ।
यदि दिनमा दुई सय जनाले दिसा पिसाबका लागि शौचालय प्रयोग गरे भने, सरदर रु ७ का दरले हिसाब गरियो भने, मात्रै दैनिक रु १४०० सङ्कलन हुने गर्दछ । मासिक २५ दिनका दरले हिसाब गर्दा मासिक रु ३५००० सङ्कलन हुने गर्दछ । यो पैसा १ वर्षमा हिसाब गर्दा ४२०००० । जम्मा हुन्छ ।
ती महिलाले कम्तीमा ५ वर्षदेखि शौचालयबाट शुल्क उठाउँदै आइरहेको बताइएको छ । सोहि अनुसार हिसाब गर्दा अहिलेसम्म उनले २१००००० बढी रुपैयाँ गैर कानुनी रूपबाट उठाइरहेकी छिन् । तर, पारदर्शीता सुशासनको व्याख्या गरेर कहिल्लै नथाक्ने काठमाडौँ जिल्ला प्रशासन कार्यालयको शौचालयबाट शुल्क उठिरहेको वा उठाईएको विषयमा मौन बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *