प्रधानन्यायाधीश नियुक्तीः पाँच महिनापछि फेरि जोशी कि जबरा ?

काठमाडौं, साउन २७ । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी बिदामा छन् । बिदामा बसेका जोशीलाई शनिबार साँझ फोनमा सोधियो, ‘सुनुवाइ समितिबाट अस्वीकृत भएपछि बिदामा बस्नुभएको छ, कसरी समय बित्दै छ ?

उनको सटीक जवाफ आयो, ‘नयाँ प्रधानन्यायाधीश कहिले नियुक्त हुन्छ भनेर कुरेर बसेको छु, अब नियुक्त हुने प्रधानन्यायाधीशलाई स्वागत गर्न आतुर छु ।’ संवैधानिक परिषद्का एक जना सदस्य (प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा) उपचारका गर्न मुलुकबाहिर भएका कारण प्रधानन्यायाधीश सिफारिस गर्न डाकिएको परिषद् बैठक स्थगित छ । देउवा फर्कने मिति तय भएपछि मात्र अब परिषद्को बैठक तय हुँदै छ ।

जोशीले नयाँ प्रधानन्यायाधीशको स्वागत गर्ने इच्छा जनाएका कारण उनी बिदा अवधि सकिएपछि सर्वोच्च फर्किने या नियुक्ति नभएसम्म बिदा थप्दै बस्नेमा दुविधामा छन् । उनको दुविधासँगै गम्भीर चासो भने अबको पाँच महिनापछि सर्वोच्चको प्रधानन्यायाधीश को बन्छन् (सिफारिसमा को पर्छन्) भन्नेमा छ ।

१८ साउनमा संसदीय सुनुवाइ विशेष समितिले विभिन्न पाँचवटा आधार र कारण देखाउँदै अस्वीकृत गरेपछि जोशी २० साउनबाट १५ दिनका लागि बिदामा छन् ।

उनको बिदा ४ भदौमा सकिँदै छ । अस्वीकृत भए पनि उनले नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्ने बताए । तर, उनले केही गम्भीर संवैधानिक र प्रक्रियागत अन्योलको संकेत भने गरेका छन् ।

जोशी अस्वीकृत भएर बिदामा बसेपछि हाल जोशीभन्दा तल्ला वरीयताका न्यायाधीश ओमप्रकाश मिश्र कायम मुकायम प्रधानन्यायाधीश छन् । न्याय परिषद्ले यसअघि नै जोशी, मिश्र र तेस्रो वरीयताका न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ ।जोशी अस्वीकृत भएपछि अब परिषद्ले मिश्रलाई प्रधानन्यायाधीशमा (परम्पराको निरन्तरता भए) प्रस्ताव गर्नेछ ।

संसदीय सुनुवाइबाट अनुमोदन भए मिश्र आगामी १८ पुससम्म प्रधानन्यायाधीश बन्नेछन् । त्यसपछि उमेरहदका कारण उनले अवकाश पाएपछि वरिष्ठताका आधारमा जबरा प्रधानन्यायाधीशका एक मात्र दाबेदार हुन् ।

तर, प्रश्न उठ्छ, प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशी राजीनामा नदिई बसिरहे भने मिश्रको अवकाशपछि जोशी पुनः प्रधानन्यायाधीशका दाबेदार हुनेछन् त ? जोशी राजीनामा नगरी न्यायाधीशको हैसियतमा सर्वोच्चमा कायम रहे भने वरिष्ठताक्रममा जबराभन्दा उनी माथि हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *