नारायणकाजि भन्छन्ः गुटका स्थायी शिविर नभत्काएसम्म पार्टी बन्दैन

घटना ७ गतेको हो । १० दिनसम्म यहाँ सबै चुपचाप थिए । मैले कसैलाई भनेको पनि थिइन । सँगै ३०/४० वर्ष देखि काम गर्दै आएका साथीहरुलाई पनि थाहा थिएन मैले राजिनामा दिएको । मलाई राजीनामा दिन बाध्य पारिएको होइन ।

दुवै जना अध्यक्ष कम्रेडहरुले अहिले त्यसो नगरिदिनुस् नै भन्नु भएको थियो तर, त्यो दिन जुन प्रकारको छलफल भयो उहाँहरुसँग कुरा भयो त्यसले मलाई नै राजिनामा दिनु नै उपयुक्त हुन्छ भन्ने लाग्यो र मैले चाहेर नै राजिनामा दिएको हुँ ।

त्यतिबेला प्रवक्ताले अब पार्टी एकतामा के भूमिका खेल्ने भन्ने छलफल भैरहेको थियो । एकीकरणका केहि कामहरु पूरा गर्न बाँकि नै छन् । पार्टी र सरकारलाई कसरी सफल बनाउने भन्ने छलफल भैरहेको थियो । पहिलो काम पार्टीको सांगठनिक काम सकौं, अनि अरु काममा लाग्यौं भन्ने भयो ।

मैले पार्टी र सरकारको विषयमा अलि बढि छलफल होस् भन्ने चाहेको छु, त्यहि अनुसार आग्रह पनि गरिरहेको छु । त्यहि क्रममा डाक्टर गोविन्द केसीको विषय हाम्रो पार्टीमा छलफल भयो । दुई तीन वटा विषयमा फरक फरक धारणा आइरहेका थिए ।

पार्टीले त्यहि बिचमा दुइटा बुँदा निर्णय गर्यो । एउटा डाक्टर केसीलाई बचाउने अर्को वार्ताबाटै समस्या समाधान गर्ने । त्यसपछि वार्ता टोली बन्यो र जुम्लाबाट उहाँलाई लिएर आइयो । सात गतेको बैठक पनि यहि विषयलाई केन्द्रीत गरेर बोलाइएको थियो । त्यो दिन विशेष कामले म गोरखा गएको थिएँ ।

साँझमा म फर्किएपछि बैठक बस्यो, त्यहि विषयमा छलफल भैरहेको थियो । डा. गोविन्द केसीको विषयलाई कसरी लिने ? यो हाम्रो सरकारलाई असफल पार्न मार्ने नियत हो कि ? अरु कसैद्धारा परिचालित हो कि ? भन्ने कुरा भयो । माथेमा प्रदिवेदनको मुख्य पक्ष के हो ? सकरात्मक हो कि, प्रतिक्रियावादी ?

डा. केसीका कुन कुन विषय सहि छन् र कसरी सम्बोधन गर्नुपर्छ भन्ने विषयमा छलफल भैरहेको थियो । त्यहिक्रममा मैले पार्टीको लाइन अनुसार सबै क्षेत्रका साथीहरुसँग सकारात्मक पहल कदमी बढाएको अवस्था हो । डा. केसीलाई मैले पनि भेटेँ । केसीको सन्दर्भमा उहाँका वार्ताकारसँग कुराकानी गरेँ ।

उहाँहरुसँग छलफल गर्दा विधेयक फिर्ता लिने अडान छाड्ने संसदभित्रैबाट हल खोज्ने, यदि राजनीतिक रुपमा धेरैले प्रयोग गरे भन्ने लागेको हो भने डा. केसी मार्फत नै एउटा वक्तव्य दिने कुरा भयो । यो शुद्ध नागरिक आन्दोलन हो, यसलाई कसैले पनि प्रयोग नगर्न म अनुरोध गर्छु भनेर कुरा गर्दा त्यो खालको समझदारी हाम्रो बिचमा भयो ।

वार्ताका लागि अनुकुल परिस्थिति बनाउने प्रयत्न गरियो । त्यहि सन्दर्भमा उहाँहरुलाई प्रवक्ताले किन त्यसो गर्ने ? भन्ने परेको रहेछ ।

सुवास नेम्वाङलाई त्यतिबेला खटाएको थिएन पछि खटाएको हो । म नेता हो । नेता भनेको कारिन्दा मात्र होइन । नेताले पार्टीको लाइन बाहिर जानु हुँदैन राष्ट्रियताको सवालमा बाहेक । राष्ट्रियतामा घातै हुने भयो भने म चाहिँ चुप लागेर बस्दिन, यो चाहिँ सत्य हो । पार्टि लाइन वार्ताबाट समस्याको समाधान गर्ने थियो, मैले त्यसैका लागि सकारात्मक वातावरण बनाउनु पार्टीको लाइन विपरित हो र ?

यो प्रक्रियामा म लागि रहेको छु भन्ने कुरा उहाँहरुलाई थाहा थियो । मैले डाक्टरहरुको टोलीसँग उहाँहरुलाई पहिले पनि भेट गराएको थिएँ तर, मैले जुन अनुसारको काम गरेँ, त्यसमा उहाँहरुले असन्तुष्टि जनाउँनुभयो ।

प्रवक्ताको भूमिका उहाँहरुले खोजेको जस्तो भएन भनें म किन रहने भनेर छाडेको हुँ । ठिकलाई ठिक बेठिकलाई बेठिक भन्ने प्रवृति हो मेरो । लिडरहरुले उठ भन्दा उठ्ने, बस भन्दा बस्ने, फलानोसँग बोल भन्दा बोल्ने, नबोल भन्दा नबोल्ने मैले बुझेको प्रवक्ता त्यो होइन । मैले पार्टीको हितकै लागि राजिनामा दिएको हो ।

सुवास नेम्वाङलाई त्यतिबेला खटाएको थिएन पछि खटाएको हो

पार्टी बनाउन गुटबन्दि ध्वस्त पार्नुपर्छ । हिजोका पार्टीभित्रका गुट र पार्टी पार्टीका गुटको आधारमा अब यो पार्टी चलाउन मिल्दैन । पार्टीका स्थायी गुटबन्दीका शिविरहरु भत्काउनु पर्छ । गुट भयो भने पार्टीलाई सक्छ । आफ्नो गुटकाले भ्रस्ट्राचार गरेपनि रक्षा गर्नु पर्यो । पार्टीमा पनि आफ्नै गुटका मान्छेलाई माथि पुर्याउनु पर्यो ।

यसरी पार्टी बन्दैन, देश बन्दैन । बुँदागत, विषयगत समिकरण हुनुपर्छ तर, स्थाई गुटबन्दी हुनु पर्छ । यसतर्फ चिन्ता धेरैको छ । अहिले नै आरोप लगाउने बेला भएको छैन तर, संस्कार बनिसक्यो । सँगै बसेको र उपहार लिएको आधारमा माथि पुर्याउने कुरै हुनुहुँदैन ।

मैले पार्टिबाट, सचिवालयबाट राजिनामा दिएको हैन, प्रवक्ताबाट राजिनामा दिएको हो । त्यो ठूलो कुरा होइन । पार्टी एकता यताउता हुँन दिनै हुँदैन, सुदृढ गर्न आवश्यक छ । जुन कुरा ठिक छ त्यो गर्नुपर्छ गुटले गरेको निर्णय आँखा चिम्लेर समर्थन गर्नु हुँदैन । मैले नगरेको त्यहि हो ।
कुराकानीमा आधारित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *