वडाध्यक्षको अधिकारमा मेयरको हस्तक्षेप, ९ बुँदे पत्र लेख्दै गरे सेवासुविधा फिर्ता

सिन्धुली, साउन २६ । वडाध्यक्षको अधिकारमाथि मेयरले ठाडो हस्तक्षेप गरेको भन्दै सिन्धुलीको दुधौली नगरपालिका–९ का वडाध्यक्ष रामकुमार अधिकारीले मेयरलाई ९ बुँदे पत्र लेख्दै आफूले प्रयोग गर्दै आएको सेवासुविधा फिर्ता गरेका छन् ।

शुक्रबार नगरपालिकामा पुगेको वडा सदस्यसहितको टोलीले सेवावापत प्रयोग गर्दै आएको स १ ब ७९० नम्बरको मोटरसाइकल, १ वटा मोबाइल र झोला फिर्ता गरेका हुन् ।

सेवा सुविधा फिर्ता गर्दै वडाध्यक्षको टोलीले ९ बुँदे ध्यानाकर्षण पत्र मेयर धनश्याम राउतलाई लेखेको छ । वडामा हुने गरेका काम कारवाहीका बारेमा आफूलाई कुनै जानकारी नदिई गर्ने गरेको भन्दै वडाध्यक्षले आक्रोश पोखेका छन् ।

आवश्यक तयारी विना एकीकृत सम्पति कर लागु गरेको, पुराना घरहरुको फेरि नक्सा पास गराउन लगाएको, कर्मचारी नियुक्तिमा नातावाद लागु गरेको, उपस्वास्थ्य चौकीको भवनमा थाहै नदिई कवर्डहल निर्माण गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

आफूखुसी सामान खरिद गरेको, सार्वजनिक जग्गामा व्यक्तिवादी निर्णय गरेको, ऐलानी जग्गामा नाप नक्सामा मनपरी रकम असुलेको, भत्ता रकम सार्वजनिक नगरिएको उल्लेख गरिएको छ । यसबारे मेयर दुधौली नगरपालिकाका मेयर धनश्याम राउतसँग बुझ्न खोज्दा उनले फोन नै उठाएनन् ।

नगरका प्रमुख र उपप्रमुख कार्यालयमा उपस्थित नभएको र पटक–पटक अनुरोध गर्दा पनि वेवास्ता गरेका कारण सेवा सुविधा फिर्ता गरेको वडाध्यक्ष अधिकारीको भनाइ छ ।

त्यसैगरी नगरका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेलले मनोमानि गर्ने, योजनाका काममा पनि कमिशन नदिएपछि फाईफस्र्यौटमा ढिलासुस्ती गर्ने गरेको पनि अधिकारीको आरोप छ । उनले अधिकृत दिपेन्द्र पौडेल प्रशासकीय अधिकृत शासकीय अधिकृत बन्न खाजेको आरोप लगाएका छन् ।

सेवा सुविधा फिर्ता गर्न टोली पुग्दा प्रमुख प्रशासकीय अधिकृत पनि अनुपस्थित रहेको पाइएकाले सामाजिक शाखाका मल्लब अधिकारीलाई वडाध्यक्षले सामाग्री फिर्ता गरेका थिए । सामाग्री बुझ्दै अधिकारीले लोकतान्त्रिक अधिकार स्वरुप वडाध्यक्षको कदमलाई आफूले सम्मान गर्ने बताएका थिए ।

वडाध्यक्षको कामलाई सम्पूर्ण वडाबासीले साथ दिएका छन् । वडामा भएका काम कारबाहीको बारेमा वडाध्यक्षलाई नै थाह नदिनु दुर्भाग्य भएको उनीहरुले बताएका छन् ।

त्यसैगरी आर्थिक वर्ष २०७४/७५ मा आएको बजेट कहाँ कति खर्च भयो समेत अहिलेसम्म मेयरले नदेखाएको दुधौलीनगरवासीले बताउँदै आएका छन् । मेयर राउत एकलौटी ढङ्गले मनोमानी रुपमा चल्न थालेको भन्दै उनका विरुद्ध पटक–पटक आवाज समेत उठ्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *