बाल विकास शिक्षकले बुझाए आठ बुँदे मागसहित ज्ञापन

कैलाली , साउन २६ । नेपाल बाल विकास शिक्षक संघर्ष केन्द्रिय समितिको निर्णय अनुसार बाल विकास शिक्षकका विभिन्न आठ बुँदे माग राख्दै देशभरी स्थानीय निकायमा ज्ञापन पत्र बुझाइएको छ ।

संघर्षका कार्यक्रम अनुसार नेपाल बाल विकास शिक्षक समिति लम्कीचुहाले लम्कीचुहा नगरपालिकामा समेत शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।

नेपाल बाल विकास शिक्षक समिति लम्कीचुहाका अध्यक्ष जानकी सन्ज्याल, सचिव सीता राठौर, जिल्ला कोषाध्यक्ष चक्र बयक, जिल्ला सहसचिव पार्बती धमाला लगायतका बाल विकास शिक्षकहरुको उपस्थितिमा लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईका सचिवालय प्रमुख बिष्णु खनाललाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत बाल विकास शिक्षकलाई दरबन्दीमा समावेश गर्नुपर्ने , प्राथमिक तहका शिक्षक सरह सेवा सुबिधा पाउनुपर्ने , बालमैत्री कक्षाकोठाको व्यवस्थापन गर्नुपर्ने लगायतका आठ बुदे माग उल्लेख गरिएको छ ।

कैलाली जिल्लाका १३ वटै स्थानीय निकायमा समेत ज्ञापन पत्र बुझाइएको नेपाल बाल विकास शिक्षक समिति कैलालीका अध्यक्ष निर्मला तिमिल्सैनाले बताइन् ।

संघर्षका कार्यक्रम अनुसार आगामी साउन ३१ गते जिल्ला शिक्षा विकास समन्वय इकाईमा ज्ञापन पत्र बुझाउने, भाद्र ३ गते ७ वटै प्रदेशमा कार्यक्रम गर्ने , भाद्र ६ गतेदेखि ८ गतेसम्म हातमा कालो पट्टी बाधेर अध्यापन गर्ने, भाद्र १० गते स्थानीय निकायमा २ घण्टा धर्ना लगायतका कार्यक्रम रहेका छन ।

प्रारम्भिक बाल विकास (इसिडी) मा कार्यरत शिक्षकहरु शिक्षा ऎनको आठौं संशोधनले इसिडिलाई विद्यालय तहमा समायोजन गरेपछि अन्य शिक्षक सरह सेवा सुविधा पाउनु पर्ने माग राखी आन्दोलनमा रहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =