दोस्रो किस्ताका लागि फारम नभर्नु भनेपछि भुकम्पपीडित अन्योलमा

काभ्रे, साउन २६ । भूकम्पले भत्किएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि फारम भर्न जाँदा वडा कार्यालयमा खटिएका प्राविधिकले म्याद सकियो भनी फर्काएको पीडितले गुनासो गरेका छन् ।

बनेपा नगरपालिका–१३ बुढाथोकी गाउँकी मीठु बुढाथोकी पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ताको फारम भर्न एक साताअघि वडा कार्यालय पुगे । वडा कार्यालयमै खटिएका सहायक इञ्जिनियर प्रवीणकुमार यादवले म्याद सकियो भनेपछि आफू फर्किएको उनले बताए ।

इञ्जिनियर यादवले दोस्रो किस्ताको फारम नभर्नु भन्ने खबर माथिबाट आएकाले नभरिएको जानकारी गराए । गत असार मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको गत चैतको बैठकले गरेको थियो ।

प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको एक महिना बितिसक्दा पनि नियुक्त नगरिएकाले म्याद थप गर्ने निर्णय हुन सकेको छैन । वडाध्यक्ष सूर्यनारायण नापित प्राधिकरणको निर्णय वडासम्म नआउँदा कार्यालय नै के गर्ने भन्ने अन्योलमा रहेको बताउँछन् ।

पीडित वडा कार्यालयमा सम्पर्क गर्न आउने भए पनि वडासँगै जानकारी नहुने गरेको उनले सुनाए । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने काम जारी राख्न निर्देशन दिइसकिएको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *