मनिषाको पहिलो किताबः ‘द बुक अफ अनटोल्ड स्टोरिज’, यस्तो बन्यो कभर

“
बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले आफ्नो पहिलो किताब ‘द बुक अफ अनटोल्ड स्टोरिज’ को कभर सार्वजनिक गरेकी छिन् ।
मनिषाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पहिलोपटक किताबको नाम सार्वजनिक गरेकी हुन् । उनले किताबको फस्र्ट लुक पनि सेयर गरेकी छन् । किताब कस्तो प्रकारको हो भन्ने चाहिँ उनले केही खुलाएकी छैनन् ।
४७ वर्षीया मनीषाले पछिल्लो समय क्यान्सरको उपचार प्रक्रिया समेटेर लेखेको पुस्तक पेन्गुइन इन्डियामार्फत प्रकाशन गरेकी हुन्। मनीषाले उक्त किताबमा आफ्नो क्यान्सर र योसँग जुध्दाका कथाहरु समेट्नुका साथै जीवनका अन्य अनुभूतिहरु पनि उल्लेख गरेकी छन्। उक्त किताब कहिले प्रकाशन हुनेबारे उनले केही उल्लेख गरेकी छैनन्।
साथै मनिषाले आफ्नो भेरिफाइड ट्विटर ह्यान्डलबाट ट्विट गर्दै प्रकाशकलाई धन्यवाद दिएकी छन् ।
‘धन्यवाद पेग्विन इन्डिया र गुरवीन चड्डा, मलाई आफ्नो कथा सनाउन प्रेरित गरेकोमा । यो मेरो पहिलो किताब हो । आशा छ अरु धेरै आउनेछन् किनकी म यो काममा रमाइरहेकी छु,’ मनिषाले लेखेकी छन् ।
बलिउडमा लामो समय सक्रिय रहेकी मनिषा सन् २०१२ मा क्यान्सरबाट पिडित बनेकी थिइन् । उनले अमेरिकामा रहेर क्यान्सरको उपचार गराइन् ।
भारतीय फिल्म इन्डस्ट्रीमा लोकप्रियता कमाएकी मनीषा क्यान्सर र त्यसको उपचारका कारण केही समय ओझेल देखिए पनि केही साताअघि रिलिज भएको फिल्म ‘सञ्जु’मा उनले सञ्जय दत्तको आमाको प्रभावशाली भूमिका निर्वाह गर्दा सबैको सराहना पाएकी छन्।
क्यान्सरबाट मुक्त भएपछि मनिषा पुन बलिउडमा सक्रिय हुने प्रयास गरिरहेकी छन् । उने अभिनय गरेको फिल्म ‘सञ्जु’ हालै प्रदर्शनमा आएको थियो । चाँडै उनी एउटा वेब सिरिजमा पनि लिड रोलमा देखिदैछिन् ।
“








