‘बिमस्टेक’ को तयारीस्वरूप विदेश सचिवहरूको एकदिने विशेष बैठक अाज हुँदै

“
काठमाडौं, साउन २६ । विदेश सचिवहरूको एकदिने विशेष बैठक काठमाडौंमा आज हुँदै छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक)को चौथो सम्मेलनको तयारीस्वरूप सदस्य राष्ट्रहरूको बैठक आयोजना हुन लागेको हो ।
बैठकमा सबै सदस्य राष्ट्रका विदेश सचिव र बिमस्टेक सचिवालयका सचिव सहभागी हुँदै छन् । भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुने बिमस्टेक सम्मेलनमा प्रस्तुत गर्ने विषयबारे बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाकारी दिएको छ ।
सन् १९९७ मा स्थापना भए पनि हालसम्म बिमस्टेकको बडापत्र जारी हुन सकेको छैन। बडापत्र अभावमा बिमस्टेकलाई संस्थागत रूपमा अघि बढाउन समस्या उत्पन्न हुने भन्दै नेपालमा आयोजना हुने बैठकबाट बडापत्र जारी गर्न नेपालले पहल गर्नेछ। शिखर बैठकमा नेपालले बिमस्टेक बडापत्र निर्माणसम्बन्धी विषयलाई प्राथमिकतासाथ प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयका अधिकारीले जनाएका छन् ।
साझा विकासको लक्ष्यसहित भूमण्डलीकरणको नकारात्मक परिणामबाट बँच्न, यस क्षेत्रको भूगोल एवं प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गर्ने उद्देश्यसहित सन् १९९७ मा बिमस्टेक गठन भएको हो। क्षेत्रीय निकटताभन्दा सहकार्यका विभिन्न क्षेत्र किटान गर्दै सहकार्य गर्न सकिने राष्ट्रबीचको संगठनका रूपमा बिमस्टेक छ। बिमस्टेकले ऊर्जा, पर्यटन, अन्तरदेशीय अपराधको जोखिम, प्राकृतिक प्रकोप, गरिबी निवारणलगायत मुद्दामा साझा रूपमा सहकार्य गर्ने उद्देश्य लिएको छ ।
“








