सावधान ! ‘असाधारण शक्ति, सुरक्षित भविष्य’ भन्नेले डुबाउलान् है

बजारभरी छन् कमसल सिमेन्ट, अनुगमन नाम मात्रको

साउन २६, काठमाडौं । तपाई घर बनाउँदै हुनुहुन्छ । सिमेन्ट, फलाम लगायतका सामग्री किन्दै हुनुहुन्छ ? होसियार हुनुहोस् है, आजकल बजारमा कमसल र गुणस्तरहिन निर्माण सामग्री छ्याप्छ्याप्ती पाइन्छ ।

उपभोक्तालाई अनेक प्रलोभन देखाउँदै आफुलाई उच्च गुणस्तरको सिमेन्ट भएको दावि गर्ने सिमेन्ट उत्पादकले उपभोक्ता माथि दिउसै ठगिरहेका छन् । वर्षौदेखि गुणस्तरहिन सिमेन्ट उत्पादन गरेर उपभोक्ता ठग्ने सिमेन्टको नाम लिनुपर्दा दुई सिमेन्टको नाम अग्र पङ्तीमा आउँछ । हजुर, हामी कुरा गर्दैछौं ‘असाधारण शक्ति, सुरक्षित भविष्य’ भन्ने आकर्षक नाराका साथ तामझामपूर्ण विज्ञापन गरेर उपभोक्तालाई जालमा पार्ने त्रिशक्रि सिमेन्ट र गुणस्तरीयतामा नम्बर १ भन्दै उपभोक्तालाई दिउसै अध्यारो बनाउने सगरमाथा सिमेन्टको ।

०७२ सालको विनाशकारी भूकम्प पश्चातको पुर्ननिर्माणमा निर्माणजन्य सामग्रीको माग उच्च भयो । स्वदेशी उत्पादनले मात्रै बजारको मागलाई थेग्न नसकेपछि भारतीय सिमेन्ट समेत नेपालमा भित्रिए । भारतीय सिमेन्टको गुणस्तरीयतामा कसैले चासो नदेखाइरहँदा नेपाली सिमेन्ट उत्पादकले भने, उपभोक्ताको पैसा र भविश्य प्रति चर्को खेलवाड गर्दै कमसल सिमेन्ट उत्पादन गरिरहेको पाइएको छ ।

पछिल्लो समय आक्रमक विज्ञापन गरेर कमसल सिमेन्ट विक्रिवितरण गर्दै आइरहेका त्रिशक्ती सिमेन्ट र सगरमाथा सिमेन्टले उपभोक्ताको पैसा मात्र लुटेका छैनन्, उनीहरुको जिउधन समेत जोखिममा पारेका छन् । यदि पुनः ०७२ बैशाख १२ गतेकाे भुकम्प अाउने हाे भने, कमसल सिमेन्ट प्रयाेग गरिएका कयाैं संरचना ध्वस्त हुँदा राष्ट्रले ठूलाे क्षति ब्यहाेर्नु पर्ने अवस्था नअाउला भन्न सकिन्न ।

पछिल्लो समय सिमेन्ट उद्योगले कमसल सिमेन्ट उत्पादन गरेको पाइएपछि सरकारले गुणस्तरहिन सिमेन्ट विक्रिवितरणमा रोक लगाएको छ ।
चाचान गु्रपबाट संचालित त्रिशक्ति सिमेन्टमा गुणस्तर कम भएको भन्दै गुणस्तर तथा नाप तौल विभागले विक्रि वितरणमा रोक लगाएको छ । विभागले त्रिशक्ति सिमेन्टको जाँच गर्दा सिमेन्टमा गुणस्तर कम भेटिएको पाएको छ ।

विभागले त्रिशक्ति सिमेन्टमा अद्युल्य पदार्थको मात्रा बढी भएको पाएपछि विक्रि वितरणमा तत्कालै रोक लगाएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । विभागले त्रिशक्ति सिमेन्टलाई १ महिनाको लागि विक्रि वितरणमा रोक लगाएपनि बजारमा विक्रि वितरणका लागि लगेको सिमेन्ट के गर्ने निर्देशन दिन सकेको छैन ।

‘दुईदुई पटक हामीले त्रिशक्ति सिमेन्ट विक्रि वितरणमा रोक लगायौं, तर, कारवाही गर्न सकिरहेका छैनौं ।’ विभागका एक कर्मचारीले मकालु खबरसँग भने । जाँचका क्रममा सिमेन्ट गुणस्तरहिन भेटिएपछि विभागले २ पटकसम्म उद्योग प्रशासनलाई जानकारी गराएको भएपनि शक्ति र पहुँचको आधारमा सिमेन्टलाई कारवाही गर्ने आँट कसैले गर्न सकेको छैन ।

त्रिशक्ति सिमेन्टको कालो कर्तुतलाई रोक्न विभाग, उद्योग मन्त्रालयका केहि सचिव तहका कर्मचारी समेत सक्रिय रहेका छन् । स्रोतका अनुसार गुणस्तर तथा नापतौल विभागका केहि माथिल्लो तहका हाकिमहरुले त्रिशक्ति सिमेन्टबाट मासिक नजराना लिन्छन् ।
त्रिशक्ति सिमेन्ट पर्साबाट उत्पादित सिमेन्ट हो ।

सगरमाथा सिमेन्ट, जुनी जुनीलाई भन्ने नारामा मख्ख नपर्नुहोस् यो सिमेन्ट सामान्य कटेरो बनाउन पनि उर्पयुक्त छैन । कमसल कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरिएको यो सिमेन्ट अहिले प्रयोग गर्नेहरु पछुताइरहेका छन् । ढलानका लागि त यो सिमेन्ट कमजोर सिद्ध भएको छ । ‘मैले चार वर्ष अघि घर बनाउँदा यहि सिमेन्ट प्रयोग गरेको थिएँ, अहिले ढलान चिरापर्न थालेको छ, घरका भित्ताहरुमा पानी रसाउन थाले । रिनोभेसन गर्ने तरखरमा छु ।’ जोरपाटी माकलबारीका अर्जुन पौडेलले बताए ।

विहिबार घोराही सिमेन्टबाट उत्पादित सगरमाथा सिमेन्टको परिक्षण प्रतिवेदन नआउदासम्म विक्री वितरणमा रोक लगाइएको छ । दाङ जिल्लाको घोराहीमा स्थापना भएको घोराही सिमेन्ट उद्योगले ५३ ग्रेडको सगरमाथा ओपिसी सिमेन्ट भनेर ४३ ग्रेडको सिमेन्ट विक्रि गरिरहेको छ । यो सिमेन्टमा प्रयोग गरिने कच्चा पदार्थको मापन नै नगरिने उद्योगका एक कर्मचारीले बताए ।

जर्मनीको केएचडी हमबोल्ट र थाइल्यान्डको एलएनभिटीको अत्याधुनिक प्रविधिको प्रयोग गरी सिमेन्ट उत्पादन गरिएको दावि गरिएपनि त्यो नाम मात्रको रहेको विज्ञहरुको भनाइ छ ।

गुणस्तर तथा नाप तौल विभागले दाङको घोराहीस्थित उद्योगबाट ओपिसी र पिपिसी सिमेन्टको नमुना परिक्षणका लागि काठमाडौं लैजान लागेको जानकारी दिएको छ ।

विभागका निर्देशक मनोजकुमार उपाध्यायले नमुना काठमाडौं लगेर परिक्षण गरिने र त्यसको प्रतिवेदन नआउँदा सम्म उत्पादन तथा विक्रि वितरणमा पूर्णरुपमा रोक लगाएको जानकारी दिए । विभागका मेकानिकल ईन्जिनियर उमेशकुमार यादवले प्रतिवेदन सार्वजनिक हुन झन्डै एकदेखि डेढ महिनाको समय लाग्न सक्ने बताए ।

टोलीले साउन १७ गते उत्पादन भएको र १६ गते उत्पादन भएर १८ गते दाङको तुलसीपुर बजारमा बिक्री भएको दुई प्रकारका सिमेन्टको गुणस्तर परिक्षणका लागि काठमान्डौं लगेर परिक्षण गर्ने जानकारी दिएको छ ।

बर्दियामा सगरमाथा सिमेन्ट प्रयोगका क्रममा निर्माणाधिन घरहरुमा समस्या भएपछि स्थानीयले उजुरी समेत गरेका थिए । जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार जेठ ३१ गते बजार अनुगमनको क्रममा सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट नमुना परिक्षणका लागि गुणस्तर तथा नापतौल विभागमा पठाएको र विभागबाट ‘गुणस्तरहिन’ भएको प्रतिवेदन आएको हुँदा उद्योगको उत्पादन र विक्रि वितरण रोक्न पत्रचार गरेको हो ।

अन्तराष्ट्रिय चलन अनुसार ३३ ग्रेड, ४३ ग्रेड, ५३ ग्रेड भनेर सिमेन्टको स्तर छुट्ट्याउने गरिन्छ । नेपालमा उत्पादन भएका कमै मात्र सिमेन्टले ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्छन् । अन्तराष्ट्रिय स्तरका ठूला आयोजना निर्माण गर्दा ५३ ग्रेडको सिमेन्ट प्रयोग हुन्छ ।

नेपालमा ओपिसी, पिपिसी र पिएससी तीन किसिमका सिमेन्ट उत्पादन हुन्छन् । अहिले नेपालमा ८० प्रतिशत बजार नेपाली सिमेन्टले ओगटेको छ । २० प्रतिशत सिमेन्ट भारतबाट आयात भइरहेको छ । अन्तराष्ट्रिय ठेक्का प्रतिस्पर्धा (आइसिबी) का कारणले ठूला आयोजनामा विदेशी सिमेन्ट प्रयोग भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *