जापानी राजकुमारीको विवाह स्थगित, आखिर के थियो विवाह नै रोक्नुपर्ने कारण ?

जापानकी राजकुमारी माकोको आगामी नोभेम्बरमा हुने भनिएको बिहे रोकिएको छ । उनका आमा–बुवाले उनकी छोरीको यही नोभेम्बरमा हुने भनिएको विवाहलाई दुई वर्षका लागि स्थगित गरेको जानकारी दिएका छन् । माकोकी भावी सासुले लिएको ऋण यसको कारण बताइएको छ ।

जापानका ट्याब्लोइडले राजकुमारीको विवाह स्थगित हुनुको मुख्य कारण कोमुरोकी आमा र उनका पूर्व पार्टनरबीचको आर्थिक झमेला भएको दाबी गरेका छन् । रिपोर्ट अनुसार कोमुरोलाई पढाउनका लागि उनकी आमाले आफ्ना पूर्व प्रेमीसँग पैसा लिएको जुन उनले अहिलेसम्म तिरेकी छैनन् ।

माको राजा अकिहितोकी नातिनी हुन् । उनले गत वर्ष सेप्टेम्बरमा केइ कोमुरोसँग इंगेजमेन्ट गरेकी थिइन् । पेशाले वकिल रहेका केइ र राजकुमारी माकोको भेट विश्वविद्यालयमा पढाइको क्रममा भएको थियो । जापानमा शाही नियमअनुसार यदि कोही राजकुमारीले आम नागरिकसँग बिहे गरिन् भने राजकुमारीको शाही दर्जा खोसिन्छ ।

उता केइ र माकोले भने बिहेको लागि आफूहरुलाई थप समय चाहिएको बताएका छन् । बिहेको तयारीका विषयमा पनि चिन्ता व्यक्त गरिएको छ । किनकि आगामी अप्रिल ३० पनि राजा अकिहितोले स्वयं राजाको पद छोड्दैछन् । त्यसपछि उनका छोरा राजकुमार नारुहितो राजा बन्नेछन् ।

राजकुमारी माकोका मातापिता राजकुमार अकिशिनो र राजकुमारी किको यो कुराबाट चिन्तित छन् । उनीहरुले ऋणको मामिला नसुल्झिँदासम्म बिहे हुन नसक्ने बताएका छन् ।

बिहेपछि माकोको शाही दर्जा समाप्त हुनेछ र उनी सामान्य नागरिकसरह हुनेछिन् । यसवापत सरकारले उनलाई १ सय मिलियन येन आर्थिक सहयोग दिनेछ । अहिलेसम्म केइ र माकोको बिहेको मिति तय भइसकेको छैन । क्योदो न्यूजका अनुसार दुवै बिहे गर्ने फैसलामा अडिग छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *