नेपाल–भारत सीमा सुरक्षाः चाडपर्वका बेला सीमा नाकामा सहायता कक्ष, ज्यादती रोक्न दुवै पक्ष सहमत

“
काठमाडौँ, साउन २५ । नेपाल–भारत सीमामा हुने ज्यादती रोक्न दुबै देशमा सुरक्षा प्रमुखबीच सहमति भएको छ ।
दिल्लीमा शुक्रबार सम्पन्न सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलको संयुक्त बैठकमा नेपाल–भारत सीमामा हुने ज्यादती रोक्न तथा चाडपर्वको समयमा मानिसहरुको सहज आवतजावतलाई सहज बनाउन दुबै देशका सुरक्षा प्रमुखबीच सहमति भएको हो । त्यसका लागि मुख्य नाकाहरुमा सहायकता कक्ष समेत राखिने भएको छ ।
अपराध रोक्न नेपाल र भारतमा सशस्त्र बलले गर्ने संयुक्त गस्तीलाई तीव्रता दिने विषयमा सशस्त्र प्रहरी बल महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र सीमा बलका प्रमुख रजनीकान्त मिश्राबीच सहमति भएको हो ।
सशस्त्र प्रहरी बल महानिरीक्षक खनाल र सशस्त्र सीमा बलका प्रमुख मिश्राले शुक्रबार सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
भारतको राजधानी नयाँ दिल्लीमा तीन दिनसम्म चलेको तेस्रो समन्वय बैठकपछि चाडपर्वमा दुबै देशका प्रमुख सीमामा सहयोगी कक्ष सञ्चालन गर्ने समेत सहमति भएको हो ।
बैठकले मानव तथा लागूऔषध ओसारपसार, आतंकवादी गतिविधि तथा हातहतियारको अवैध कारोबार रोक्न समेत सहकार्य गर्न सहमति गरेको छ । दुबै देशका प्रमुखहरुले एकअर्काका सुरक्षा अधिकारीलाई तालिम र संयुक्त सहकार्यका लागि अवसर उपलब्ध गराउन समेत सहमति पत्रमा हस्ताक्षर भएको हो।
सशस्त्र प्रहरी महानिरीक्षक खनाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा सशस्त्रका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, प्रहरी नायव महानिरीक्षक कविन्द्रमान श्रेष्ठ र प्रहरी नायव उपरीक्षक कमलप्रसाद तिम्सिना छन्।
त्यस्तै नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशीलकुमार भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत डा. ईला मैनाली प्रतिनिधि मण्डलमा सहभागी छन्।
“








