यमन: अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु, ४८ जना घाइते

यमन, साउन २५ । उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ ।

साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले यो आक्रमण गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जानकारी दिएको छ ।

संयुक्त गठबन्धनका प्रवक्ता तुर्कि अल–मलिकीले साउदी अरेबियामाथि हुथी बिद्रोहीले घातक क्षेप्यास्त्र प्रहार गरेको बदलामा कारबाही गरिएको दाबी गरे । उनले भने, “बसमा हुथी विद्रोही चढेको आशंका गरिएको थियो । तर उनीहरुले बालबालिकालाई प्रयोग गरे ।”

आइसीआरसीका अनुसार बालबालिकाले भरिएको सो बस हुथी विद्रोहीको बलियो प्रभाव रहेको सादाको दहमयान बजारतर्फ जाँदै थियो ।

स्थानीय यमनी अस्पतालका अनुसार हालसम्म २९ बालबालिकाको शव प्राप्त भइसकेको छ । ती बालबालिका १५ वर्ष मुनिका छन् । क्षेप्यास्त्र आक्रमणमा परी ३० जना बालबालिकासहित ४८ व्यक्ति घाइते भएको आइसीआरसीले जानकारी दिएको छ ।

घाइतेहरुका कैयांै बालबालिकाको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको संख्या अझै बढ्न सक्ने पनि प्रहरीको अनुमान रहेको छ ।

घाइते र मृतकलाई विभिन्न स्थानीय अस्पतालहरुमा राखिएकोले मृतकको सही विवरण प्राप्त भइनसकेको रेडक्रसका प्रवक्ताले जानकारी दिएका छन् ।

विद्रोहीका अनुसार यस आक्रमणमा परी ५० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७७ घाइते भएका छन् । यो संख्या प्रायः बालबालिकाको भएको जनाइएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र अमेरिकी विदेश मन्त्रालयले यस घटनाको स्वतन्त्र रुपमा छानबिनका लागि आह्वान गरेका छन् । निर्दोष व्यक्तिहरुमाथिको यस्तो आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानूनले पनि निन्दनीय मान्दछ ।

यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन नै बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *