सदरमुकाम गुलरिया जोड्ने हुलाकी सडक हिलाम्मे हुँदा सास्ती
“
साउन १०, बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया देखि भुरिगाउँ र कोठियाघाट हुलाकी सडक हिलाम्मे हुँदा सदरमुकाम ओहोरदोहोर गर्न समस्या भएको छ । निर्माणाधिन हुलाकी सडकमा ठूलाठूला खाल्डाखुल्डी र हिलोले गर्दा साना तथा ठुला सवारी साधन चलाउन समस्या भएपछी ओहोरदोहोर गर्न समस्या भएको हो । सडक हिलाम्मे हुँदा सदरमुकाम आवतजावत गर्न सास्ती भएको भन्दै ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ र नेउलापुरका स्थानियवासीहरु हुलाकी सडकमा उत्रिएर ग्राभेल हाल्न माग गरीरहेका छन ।
हुलाकी सडक निर्माणको जिम्मा पाएको शर्मा राजेन्द्र जेभि कम्पनीले सडक किनारमा ग्राभेल नहाली माटो मात्रै हालेका कारण सडक हिलाम्मे भएकाले तुरुन्त ग्राभेल गर्न माग गर्दै हरीयाली कृषक समुहको अगुवाईमा सडक बन्द गरीएको नेउलापुरकी राजकुमारी थारुले जानकारी दिनुभयो ।वर्षाको समयका लागि हिलाम्मे सडकमा ग्राभेल हालेर सदरमुकाम ओहोरदोहोरका लागि सहज बनाउन माग गर्दै उनिहरु विहान ६ बजे देखि सडकमा उत्रिएका हुन । सडकमा उत्रिएका महिलाहरुले बस, ट्रक, जीप, मोटसाईकल, साईकल समेत चल्न दिएका थिएनन । शर्मा राजेन्द्र जेभि कम्पनीका प्रकाश विश्वकर्माले हरीयाली कृषक समुह एवं आन्दोलनकी अगुवा राधा पाण्डेसंग टेलीफोनमा कुरागर्दै ५ दिन भित्र हुलाकी सडकका खाल्डाखुल्डीमा ग्राभेल हाल्ने भनेपछी ४ घण्टापछी अबरुद्ध सडक खुलेको हो ।
अविरल बर्षा हुन थालेपछि सदरमुकाम गुलरियाबाट भुरिगाउँ र कोठियाघाट जोडने सडक खण्ड हिलाम्मे भएको छ । सडकको विभिन्न ठाउँमा नयाँ माटो पटानी गरेकाले गाडी चिप्लीएर चलाउनै नसक्ने भएको छ । हिलोका कारण सवारी साधन नचल्दा सरकारी कामकाजका लागि सदरमुकाम जानेहरुलाई बिच बाटोबाटै फर्कनु पर्ने बाध्यता रहेको छ ।भुरिगाउँ र कोठियाघाटदेखि सदरमुकाम गुलरिया सम्मको हुलाकी सडक हिलाम्मे हुँदा साईकल, मोटरसाईकल तथा पैदल हिड्न समेत अप्ठ्यारो हुने गरेको स्थानियवासी बताउँछन । हिलोका कारण बाटो विग्रिदा अत्यावश्यक एम्वुलेन्स लगाएत सवारी साधन चलाउन समेत गाह्रो भएको छ । पानी परेको दिन हुलाकी सडकमा सवारी साधन ठप्प हुने गरेका छन ।
भुरिगाउँ देखि सदरमुका गुलरीयाको सम्मको ३२ किलोमिटर र कोठियाघाट देखि १० किलोमिटर हुलाकी सडकमा जाहातही रहेका ठूलाठूला खाडलमा पानी भरिएकाले सवारी साधन गुड्ने सडक अहिले गाई भँैसी आहाल बस्ने ठाउँ जस्तो भएको छ । निर्माणाधिन सडकमा माटो मात्र हालेका कारण पानी परेको दिन पैदल हिड्न समेत अप्ठ्यारो हुने गरेको हो ।हुलाकी सडक हिलाम्मे भएपछि अघिपछिको तुलनामा सवारीसाधन समेत ज्यादै कम चल्ने गरेका छन । सवारी साधन कम चल्दा सरकारी कामकाजका लागि सदरमुकाम गएकाहरु उतै बास बस्न बाध्य छन । सडकमा जहाँतही खाल्डाखुल्डी र हिलोका कारण सदरमुकाम गुलरिया देखि भुरिगाउँ सम्मको ३२ किलोमिटर सडकमा यात्रा गर्दा ३ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ ।
“