जिल्ला अस्पतालमा औषधी अभाव, पञ्जासमेत बिरामीले किन्नुपर्ने
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
धादिङ, साउन २५ । जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ ।
डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।
जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था आएको बताए ।
बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरले आफैँले उपचार सामग्री र औषधि खरिद गर्नुपर्ने बताउने गरेको राजन श्रेष्ठको भनाइ छ ।
सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि अत्यावश्यक औषधिसमेत सकिएपछि अन्यौलमा परेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए ।
नेपाल सरकारले निःशुल्क औषधि खरिद गर्नका लागि दिँदै आएको रु आठदेखि १० लाख रकम नपुग हुँदा निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन ।
जिल्ला अस्पतालमा दैनिक आउने करीब २०० बिरामीको परीक्षण गर्दा चिकित्सकले प्रयोग गर्ने सामग्री र र निःशुल्क औषधिका लागि करिब रु ७० लाख आवश्यक पर्ने भए पनि सरकारले उपलब्ध नगराउँदा निःशुल्क स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)