वीपी प्रतिष्ठानद्धारा १०० शैयाको अस्पताल निर्माणको तयारी शुरु

धरान, साउन २५ । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचौकमा रहेको करिव १ विघा १४ कठ्ठा जग्गामा १०० शैयाको अस्पताल सेवा विस्तारको तयारी शुरु गरेको छ ।

सरोकारवालाहरुसँग आवश्यक समन्वय गरी अस्पताल सेवा विस्तारका लागि अनुकुल वातावरण बनाउन प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई जिम्मेवारी दिएपछि औपचारिक रुपले अस्पताल सेवा विस्तारको तयारी शुरु भएको हो ।

जिम्मेवारी पाएपछि तामाङले पुरानो अस्पतालको नामले चिनिने उक्त स्थानको स्थलगत निरीक्षण गरी विगतमा जिल्ला जनस्वस्थ्य मातहतमा रहेको हाल स्थानीय तहमा समायोजन भएको स्वस्थ्य चौकी र यस अन्तर्गत सञ्चालित ५ शैयाको बर्थिङ सेन्टर, पुनस्र्थापना गृह, ५ सुकुम्वासी परिवार, सवारी पार्किङ, प्रतिष्ठानकै चिकित्सकहरुबाट सञ्चालित मृगौला रोग सम्बन्धि केएचडीसी कार्यक्रम, नगरस्तरीय वातावरण समन्वय समिति, प्रतिष्ठानको आवास, अन्य जीर्ण भवन लगायतको अवस्थाबारे जानकारी लिएकाछन् ।

उनले प्रतिष्ठानको योजनाबारेमा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी, प्रमुख कार्यकारी अधिकृत सुमन घिमिरे र वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडासँग पनि छलफल गरेका छन् ।

अस्पताल निर्माणको योजनाका साथ त्यहाँ रहेका सबैलाई न्यायोचित तवरले व्यवस्थापन गरिने बताइएपछि उपमहानगर लगायत सबै पक्ष सकारात्मक रहेको तामाङले बताए ।

प्रतिष्ठानका उपकुलपति डा. रौनियारले विरामीको अत्याधिक चापलाई व्यवस्थापन गर्न छाता चौकमा अस्पताल सेवा विस्तार गर्न जरुरी रहेको बताए ।

साधारण प्रकृतिको बिरामीहरुको अत्यधिक चापका कारण जटिल प्रकृतिका विरामीहरको उपचारमा प्रभाव परेकाले साधारण बिरामीहरुको व्यवस्थापनका लागि उक्त स्थानमा तत्काल विशेषज्ञ सहितको स्त्री रोग, मेडिसिन ओपिडी, ल्याव, एक्सरे र अल्ट्रासाउण्डको सेवा सञ्चालन गर्ने र सम्पूर्ण सेवा सञ्चालनका लागि १०० शैयाको अस्पताल निर्माणको प्रकृया शुरु गरिने उनले बताए ।

यसका लागि सबै पक्षसँग समन्वय गरी वातावरण बनाउन सुजेन्द्र जीलाई जिम्मेवारी दिइएको छ, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 10 =