मेलानिया ट्रम्पका बाबुआमाले प्राप्त गरे अमेरिकी नागरिकता
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
न्यूयोर्क, साउन २५ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिक रुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासु अमालिजा नाभ्सले अमेरिकी नागरिकता लिएको आप्रवासन सम्बन्धी कानुन व्यवसायी मिसेल विल्ड्सले बताए ।
नागरिकता प्राप्त गर्न कति समय लाग्यो वा स्थायी अनुमतिका लागि प्रथम महिला मेलानियाले सिफारिस गरेको हो होइन भन्ने उनले जानकारी दिएनन् ।
ट्रम्पले आप्रवासन नीतिमा कडा नीति अख्तियार गरेका छन् । अमेरिकी नागरिकता लिएका कतिपय मुलुकका नागरिकले आफ्ना परिवारका सदस्यलाई एकपछि अर्को गर्दै स्थायी आवासीय अनुमति दिलाउने र पछि नागरिकता लिने गर्दा अमेरिकामा बिदेशीको संख्या बढेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् ।
राष्ट्रपति ट्रम्पले विदेशीका कारण रोजगारी गुमेको र राष्ट्रिय सुरक्षामै चुनौती सिर्जना भइरहेको बताएका छन् । योग्य र बढी शिक्षित, अंग्रेजी राम्रोसँग बोल्न सक्नेलाई मात्र अमेरिकामा प्रवेश दिनुपर्ने उनको जोड छ ।
स्लोभेनियामा कार बिक्रेता भिक्टर नाभ्स र कपडा कारखानामा काम गर्ने अमालिजा दुवैको उमेर ७० वर्षभन्दा बढी छ । अवकाश जीवन बिताइरहेका उनीहरु दुवै ज्यादाजसो अमेरिकामै बस्दै आएका छन् । उनीहरु छोरी मेलानीया र नाति ब्यारोनसँग रमाइरहेका छन् ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)