कांग्रेस अर्जुनदृष्टि राखेर अघि बढ्नुपर्ने : केन्द्रिय सदस्य गिरी

साउन १०, नेपालगंज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले अब हुने चुनावमा कांग्रेस अर्जुनदृष्टि राखेर अघि बढ्नुपर्ने बताएका छन् । तीन दिनसम्म चलेको केन्द्रिय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै पूर्व सिंचाई मन्त्री समेत रहेका युवा नेता गिरीले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको चुनाव र त्यसपछि हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा राम्रो व्यवस्थापनका साथ अर्जुनदृष्टि राखेर पार्टी अघि बढ्नुपर्दछ ।
उनले भने, “सबै चाँजोपाँजो मिलाएर अबका चुनावी मैदानमा दत्तचित्त भएर एक ढिक्काका साथ अघि बढौं, परिणाम कांग्रेसकै पक्षमा हुन्छ ।”
उनले स्थानीय तहको पहिलो र दोस्रो चरणको चुनावमा पार्टीले अपेक्षित जित हासिल गर्न नसके पनि प्रतिकूल अवस्थाका बाबजुद् पनि पार्टीलाई मतदान गर्ने मतदातालाई धन्यबाद दिँदै भने, “हाम्रा पनि केही कमीकमजोरी रहे, त्यसको समिक्षा गरौं र आगामी दिनमा पार्टीलाई जिताउन कुनै कसर बाँकि राख्नुहुँदैन, कांग्रेसलाई सम्मानजनक मत दिएर सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दछु ।”
केन्द्रिय सदस्य गिरीले कांग्रेसको हार जित भन्दा पनि मुलुकले जितेको भन्दै स्थानीय तहको चुनाव गराएर लोकतन्त्रको जगलाई बलियो बनाउँदै कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयनको प्रक्रिया अघि बढेको बताए । कांग्रेसले नै संविधान जारी गरेकाले कार्यान्वयनको जिम्मेवारी पनि कांग्रेसकै भएकाले अब हुने सबै चुनाव संविधान बमोजिम यथासमयमै सम्पन्न गर्न पार्टी लाग्नुको विकल्प नरहेको गिरीले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =