बेइज्जती गरे २ वर्ष, २० वर्ष उमेर नपुगी विवाह गरे ३० हजार जरिवानासहित ३ वर्ष जेल सजाय !

“
काठमाडौँ, साउन २४ । आगामी भदौ १ गतेदेखि कसैलाई बेइज्जती गरेमा २ वर्ष कैद सजाय हुने भएको छ । भदौ १ देखि लागु हुने फौजदारी कसुर ऐनअन्तर्गत गाली सम्बन्धी कसुरमा त्यस्तो सजायको व्यवस्था गरिएको छ ।
उक्त ऐनमा कसैले कसैलाई होच्याउने नियतले वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजल गाली गरेको मानिने उल्लेख गरिएको छ ।
अरुको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्ने गरी लेखेर, आचरण वा आकारवा चिन्ह वा प्रचारप्रसारद्वारा व्यक्तिगत चरित्र वा ख्यातीलाई होच्याउने गरी चरित्र हत्या गरेमा निजलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ ।
त्यस्तै मृतकलाई कुनै आक्षेप निजको परिवार वा नातेदारहरुको भावनामा चोट पुर्याउने नियतले कुनै आक्षेप लगाएमा यसलाई पनि बेइज्जतीका रुपमा परिभाषित गरिएको छ भने व्यंग्य गरी वा अरु कुनै घुमाउरो तवरले आक्षेप लगाएमा यसलाई पनि बेइज्जती मानिने उल्लेख गरिएको छ ।
तर, कुनै व्यक्तिको सार्वजनिक पद वा ओहोदाको महत्वसँग सम्बन्ध राख्ने आचरण र त्यस्तो आचरणबाट बुझिनेसम्मको निजको चरित्रलाई लिएर असल नियतले कुनै विचार प्रकट गर्नु वा सर्वसाधारणको हितको लागि प्रमाण र आधारसहित कुनै व्यक्तिसँग सम्बन्धित साँचो कुरा प्रकाशन वा प्रशारण गर्नुलाई भने बेइज्जती मानिने छैन ।
त्यस्तै भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार अब विवाहमा लेनदेन गर्ने अर्थात् दाइजो माग्ने र दाइजोका कारण महिलालाई हैरानी दिनेलाई कडा कारबाही हुने भएको छ ।
ऐनको दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल अचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको शर्त राखी विवाह गर्न नहुने व्यवस्था गरिएको छ ।
यदि यसरी दाइजो मागेमा वा लेनदेनको शर्त राखेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ऐनमा उल्लेख गरिएको छ ।
त्यस्तै बहुबिवाह गर्नेलाई पनि कडा कारबाही गरिने भएको छ । भदौ १ देखि नै लागू हुने मुलुकी देवानी (संहिता) ऐन २०७४ मा महिला र पुरुष दुबैको विवाह सम्बन्ध कायम नरहेको अवस्थामा मात्र विवाह हुन सक्ने व्यवस्था गरिएको छ ।
विवाहित पुरुषको पत्नीले कानुन बमोजिम अंशवण्डा गरेर भिन्न भएको अवस्थामा मात्र अर्को विवाह गर्न पाइने ऐनमा व्यवस्था गरिएको छ । अन्यथा बहुविवाह गर्ने पुरुष र विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ ।
यस्तै विवाह सम्बन्धी अर्को व्यवस्थामा विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ । यदि २० वर्षअघि विहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ । विहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।
“








