बैँकहरुले ऋणको ब्याज घटाउ, समातेर जेल हाल्नु नपरोस्– गभर्नर नेपाल

काठमाडौँ, साउन २४ । गभर्नर चिरञ्जिवी नेपालले बैंकहरूलाई ऋणको ब्याज नघटाए राष्ट्र बैँक कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

आर्थिक पत्रकारहरुलाई बैँकिङ क्षेत्रका विषयमा जानकारी दिन बिहिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले निक्षेप संकलनमा नयाँ योजना ल्याउने बैंकहरूले ऋण दिँदा ब्याज नघटाए राष्ट्र बैंक कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले भने, ‘निक्षेप योजना संकलनमा ल्याउने बैँकले ऋण दिँदा ब्याज घटाउनुपर्छ । वित्तीय क्षेत्रलाई पुलिसको व्यवहार गर्न नपरोस्, समातेर जेल हाल्ने काम गर्न नपरोस्।’

गभर्नर नेपालले वित्तिय क्षेत्रलाई अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन गर्नुपर्ने बताउँदै भने, ‘वित्तिय क्षेत्र पारदर्शी हुनुपर्छ, बैंकहरूले प्रतिवेदन साधारण, सरल, सहज भाषामा तयार पार्नुपर्छ । अनि मात्र पत्रकारले पनि बुझेर समाचार राम्रो लेख्न सक्छन्।’

कार्यक्रममा बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले ब्याजदर घट्न चालू आर्थिक वर्षको त्रैमासिकसम्म कुर्नुपर्ने बताए ।

गभर्नर नेपालले बजारमा पैसाको पहुँच पुर्याउन सहज बाटो प्रयोग गर्न राष्ट्र बैंक लागिपरेको बताउँदै उनले त्यसका लागि वित्तिय क्षेत्रबाट आवेदन माग गरिएको जानकारी दिए ।

बजारबाट साउनको तीन हप्तामा ९३ अर्ब २५ करोड रुपैयाँ संकलन गरिएको जानकारी दिँदै गभर्नर नेपालले उक्त रकम विकास योजनामा लगाउने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *