अापूर्तिमन्त्री यादवद्वारा प्रोबायोटेक इण्डष्ट्रिज प्रालिको निरीक्षण

वीरगञ्ज, साउन २४ । वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बारा–पर्सा कोरिडोरस्थित प्रोबायोटेक इण्डष्ट्रिज प्रालिको निरीक्षण गरेका छन् । बुधवार दिउँसो  मन्त्री यादवले पर्साको गण्डकस्थित निम्बस समूहको सो उद्योगकाे निरीक्षण गरेका हुन् ।

मन्त्री यादवले उद्योगको उत्पादन प्रविधि र प्रक्रियाका बारेमा जानकारी लिएको उद्योगका प्रशासकीय अधिकृत ओमप्रकाश बैठाले बताए । उद्योगले मन्त्रालयसँग माग गरेको क्रुड आयल निकासीको अनुमतिका लागि उत्पादनको गुणस्तर र प्रविधिका बारेमा जानकारी लिन मन्त्री यादव स्थलगत निरीक्षणमा पुगेका हुन् ।

मन्त्री यादवले क्रुड आयलमा ‘लेकिथिन’ रसायन भए, नभएको पत्ता लगाउन चारओटा नमूना पनि परीक्षणका लागि लिएर गएको बैठाले जानकारी दिए । प्रशासकीय अधिकृत बैठाले मन्त्री यादवले उद्योग परिसरमा करीब १ घण्टाजति निरीक्षण गरेको बताए ।

उत्पादन युनिट, प्रविधि र प्रक्रियाका बारेमा जानकारी लिएका मन्त्री यादवलाइ  उत्पादनका समस्यबारे पनि  जानकारी गराइएकाे थियाे । प्रोबायोटेकले कुखुराको दाना र खाने तेल उत्पादन गर्दै आएको छ । दानाको कच्चा पदार्थका रूपमा प्रयोग हुने भटमासको पिना बनाउँदा निस्किने क्रुड आयल भारत निकासी गर्छ । उद्योगले प्रतिमहीना १२ हजार मेट्रिकटन क्रुड आयल उत्पादन गर्नेमा ४ हजार मेट्रिकटनको विभिन्न ब्राण्डमा खानेतेल उत्पादन गरी स्वदेशी बजारमा पुर्याइरहेको छ ।

वीरगञ्ज कोरिडोरका अन्य तीनओटा दाना उद्योगले क्रुड आयल निकासी गर्छन् । सरकारले यही साउनदेखि यसको निकासी रोकेकोमा उद्योगीले निकासी खोल्न आग्रह गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =