हारसँगै नेपाल विश्वकपमा छनौट हुन असफल

साउन १०, काठमाडाै । आईसीसी यु-१९ एसिया विश्वकप छनौट प्रतियोगिता अन्तर्गत छैठौं तथा अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित हुन पुगेको छ । प्रतियोगिताका सबै खेलमा जित निकाल्दै अफगानिस्तान २०१८ यु-१९ विश्वकप खेल्न छनौट भएको हो । कुल ६ खेल मध्ये ४ मा जित र अफगानिस्तानसँगको दुवै खेलमा हार बेहोरेको नेपाल दोश्रो स्थानमा रहँदै बिश्वकप छनौट हुन असफल रह्यो ।

अफगानिस्तानले टस जितेर ब्याटिंग गर्दै दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाली टिमले ४०.३ ओभरमा ९९ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । नेपालको लागि दिपेन्द्र ऐरीले ४८ रनको योगदान दिनु बाहेक अन्य ब्याट्सम्यानले ठुलो योगदान दिन सकेनन् । पवन सर्राफ र प्रकास केसीले १०/१० रनको योगदान दिए । अफगानिस्तानी बलर युसुफ जाजीले ४ तथा मुजिब रहमानले ३ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ४६.५ ओभरमा १९५ रनमा सबै विकेट गुमाएको थियो । अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले शतक प्रहार गर्ने क्रममा ११४ बलमा ७ चौका र ५ छक्काको मदतले १०१ रनको योगदान दिएका थिए । उनी बाहेक अन्य अफगानिस्तानका ब्याट्सम्यानहरुले ठुलो स्कोर बनाउन सकेनन् ।

नेपालको लागि शाहब आलमले ४ तथा दिपेन्द्र ऐरीले ३ विकेट हात पारेका थिए । शाहब आलमले इनिंगको ४५ औ ओभरमा ३ विकेट हात पार्दै एक समय बलियो देखिएको अफगानिस्तानलाई थोरै रनमा सिमित गर्न महत्वपूर्ण योगदान दिएका थिए । सन्दिप लामिछाने र पवन सर्राफले १/१ विकेट हात पारे । हार सँगै नेट रनरेटमा निकै अघि रहेको अफगानिस्तानलाई पछि पार्दै २०१८ मा न्युजिल्याण्डमा संचालन यु-१९ विश्वकप छनौट हुने नेपालको सम्भावना समाप्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *