‘मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ’– गृहमन्त्री थापा

काठमाडौँ,साउन २२ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मानवतस्करी, बेचविखन र यस सम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको बताएका छन् ।

इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीर रुपमा लिएको बताएका हुन् ।

उनले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानवतस्करी र वेचविखन बाधकको रुपमा देखा परिरहेको टिप्पणी गरे ।

गृहमन्त्री थापाले मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायहरुबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले बिभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागिसमेत यो सम्मेलनले दिशा निर्देश गर्ने आशा व्यक्त गरे ।

मंगलबार सम्पन्न हुने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी छन् । सन् २००२ मा बालि प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो ।

नेपालसहित चीन, भारत, अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु आईओएम, यूएनएचसीआर र यूएनओडीसी सम्मेलनको सदस्यको रुपमा रहेका छन् ।

गृहमन्त्रालयको चारसदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनी साउन २३ गते नेपाल र्फकने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *