संवैधानिक परिषदको बैठक बुधबार, को होला प्रधानन्यायाधीशमा सिफारिस ?

काठमाडौँ, साउन २२ । प्रधानन्यायाधीशमा दिपकराज जोशी अस्वीकृत भएपछि प्रधानन्यायाधीश सिफारिसका लागि बुधबार संवैधानिक परिषदको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न बुधबार संवैधानिक परिषदको बैठक बोलाएका हुन् । बुधबार बैठक बोलाए पनि समय निर्धारण भइसकेको छैन ।

संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले शुक्रबार दुईतिहाईले अस्वीकृत गरेको थियो । उनको शैक्षिक प्रमाणपत्र अयोग्य रहेको निष्कर्ष निकाल्दै संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा बहिस्कार गरेको थियो ।

प्रस्तावित प्रधानन्यायाधीशमा जोशी अस्वीकृत भएपछि नयाँ व्यक्ति सिफारिसका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएको उनका प्रेस सल्लाहार डा. कुन्दन अर्यालले जानकारी दिए ।

संवैधाननिक परिषदले बरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर जबरामध्ये एकलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने जनाइएको छ ।

यसअघि संवैधानिक परिषदले गत जेठ २९ मा कायममुकायम प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।

गत फागुन ३० गते प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ । सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुन अझै केही समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *