पर्सामा सामाजिक परिचालकले गरे करोडौको भ्रष्टाचार


“
साउन १०, वीरगंज । पर्साका तत्कालीन गाविसहरूमा कार्यरत सामाजिक परिचालकहरूले गाविसको रकम आफैं दुरुपयोग गर्ने गरेको खुलेको छ । सम्बन्धित गाविससँग मिलोमतो गरी उनीहरूले आर्थिक वर्ष २०७३/७४ मा रु १ करोड ५० लाखभन्दा बढी गाविसको रकम दुरुपयोग गरेको प्रमाण फेला परेको हो । जनप्रतिनिधि विहीन गाविस सञ्चालनको जिम्मा पाएका सचिवहरूले गर्दै आएको भ्रष्टाचार लुकाउन सामाजिक परिचालकहरूले आफैं भ्रष्टाचार गरिरहँदा सरोकावालाहरू अहिलेसम्म बेखबर रहेका छन् ।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत गाविसमा काम गर्दै आएका परिचालकहरूले गाविसको रकम आफ्नै नाममा झिकी रकम दुरुपयोग गर्ने गरेको पाइएको छ । समुदायस्तरमा विभिन्न सचेतनामूलक काम गर्ने, सामाजिक सद्भाव कायम गराउने, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रलगायत गाविसले गर्दै आएको कामकाज बारे समाजलाई जानकारी गराउने उद्देश्यले काममा खटिएका ती कर्मचारीहरूले गाविसको रकमबाट मौजमस्ती गरिरहेको प्रमाण भेटिएको छ ।
आर्थिक वर्ष २०७३।७४ मा सामाजिक परिचालकले लागभग रु १ करोड ५० लाख बराबर रकम सम्बन्धित गाविसहरूबाट बालबालिकाहरूको नाममा रु २ लाखसम्म निकासा गरि खर्च गरेको पाइएको हो । पर्साको ८२ गाविस तथा नगरको प्रत्येक वडामा सामाजिक परिचालकहरूले काम गर्दै आएका छन् । गाविस तथा नगरपालिकामा हुने भ्रष्टाचार लुकाउन कर्मचारीहरूले परिचालक बनाएको योजना अनुसार गाविस सचिवहरूले आफू जोगिन रकम दिने गरेको एक गाविस सचिवले बताए । आफूले गरेको भ्रष्टाचारबारे परिचालक बाहेक कसैलाई थाहा नभएको कारण त्यस्तो कार्य भएको सचिवले बताए । सामाजिक परिचालकहरूले मुडली, धोरे, पकहामैनपुर, पोखरिया, सेढवा, बसन्तपुरलगायत गाविसहरूबाट नेपालको विभिन्न ठाउँमा भ्रमण गराएको देखिन्छ ।
आइतवार पोखरा भ्रमण सकेर आएको टोली नेता सामाजिक परिचालक धोरेका नगनरायण साह तथा मुडलीका बिक्रम साहसँग सम्पर्क गर्दा गाविसले छुट्याएको रकम खर्च गर्ने विषयमा बाल भेला गराई निर्णय अनुसार भ्रमणमा गएको बताए । भ्रमणमा कति खर्च भयो आफूलाई थाहा नभएको ट्राभल एजेन्टलाई सोध्न उनले भने । बालबालिहरूको दिगो विकासको लागि नेपाल सरकारले पठाएको रकम सामाजिक परिचालकहरूले आफू अनुकूल भोज भतेर, भ्र्रमणमैं सिध्याउने गरेको पाइएको छ । त्यति मात्र हैन अहिले उनीहरूलाई गाविसको हरेक विकास खर्चमा सहभागी गराई कमिसन दिने गरेको एकजना गाविस सचिवले उपल्बध गराएको बैक स्टेटमेन्टबाट थाहा पाइएको छ ।
साभार
“
